भदौ ७, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई रिहा गर्न सर्वोच्च अदालतले दोस्रो पटक आदेश दिएको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो ।
केही दिन अघि प्रकाण्डलाई चन्दा आतङ्क गरेको आरोप लागेको भएपनि पर्याप्त आधार नभएको उल्लेख गर्दै सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो । उनलाई रिह गर्नासाथ पुनः पक्राउ गरिएको थियो । उनलाई गैरकानूनी रुपमा पुनः पक्राउ गरिएको उल्लेख गर्दै दोस्रो पटक रिट निवेदन दायर गरिएको थियो ।
प्रकाण्डलाई उपस्थित गराउन आदेश दिएसँगै उनलाई बिहीवार सर्वोच्च अदालत लगिएको थियो । उनलाई रिहा गर्न आदेश दिइएको भएपनि उनलाई पुनः पक्राउ गर्न सर्वोच्च अदालत बाहिर उल्लेख्य रुपमा वर्दीधारी र सादा पोसाकमा प्रहरीहरु तैनाथ भइरहेका छन् ।