ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिमष्टेक शिखर सम्मेलन : आज विदेश सचिवहरू आउँदै

Aug 27, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमष्टेक)को चौथो शिखर सम्मेलनका लागि आज (सोमवार) विदेश सचिवहरू नेपाल आउँदै छन् । मङ्गलवार सचिवस्तरीय बैठक आयोजना हुने कार्यक्रम छ । यस्तै, मङ्गलवार नै विदेशमन्त्री आउने र बुधवार मन्त्रीस्तरीय बैठक आयोजना हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू १३ गते साँझ वा १४ गते बिहानसम्ममा नेपाल आउने कार्यक्रम छ । सम्मेलनमा भाग लिन बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान–ओ–चा, म्यानमारका राष्ट्रपति विन मिन्त र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे आउँदै छन् । यस पटकको सम्मेलनले १६ ओटा कार्यक्षेत्रलाई प्राथमिकीकरण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बिमष्टेकका कार्यक्षेत्रमा हालसम्म व्यापार तथा लगानी, प्रविधि, ऊर्जा, यातायात तथा सञ्चार, पर्यटन, मत्स्य, कृषि, सांस्कृतिक सहकार्य, पर्यावरण तथा विपत्ति व्यवस्थापन, जनस्वास्थ्य, जनताबीचको सम्पर्क, गरीबी निवारण, आतङ्कवाद तथा अन्तरराष्ट्रिय अपराध र जलवायु परिवर्तनलगायत छन् । विमानस्थलमा यात्रुका लागि नयाँ व्यवस्था सम्मेलनलाई दृष्टिगत गरेर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ । यात्रुको सुरक्षा तथा सहजीकरणका लागि विमानस्थलले यात्रुबाहेकका आगन्तुकको प्रवेश निषेध गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । विमानस्थलले यात्रु स्वयम् सक्षम भएको अवस्थामा सहयोगीको जरुरत नपर्ने हुँदा अनावश्यक व्यक्ति प्रवेश नगर्न अनुरोध गरेको छ । कुनै यात्रु बिरामी, अशक्त, सहयोगी नभई नहुने अवस्था भएमा मात्रै एकजना सहयोगी प्रवेश गर्न सक्नेछन् । यात्रुबाहेक अन्य व्यक्तिलाई सम्मेलन अवधिभर प्रवेश सुविधा नहुने विमानस्थलका महाप्रबन्धक क्षेत्रीले जानकारी दिए । मुख्यद्वार नजीकै प्रहरी चेकिङस्थलमा अत्यावश्यक सहयोगीले आफ्नो प्रवेशको कारण बताएर मात्रै विमानस्थल प्रवेश गर्न सक्नेछ । सहयोगीको रूपमा भित्र प्रवेश गरेको व्यक्तिले यात्रु चेकिङका लागि प्रस्थानतर्फ लामबद्ध भएको १०–१५ मिनेटभित्र विमानस्थलबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ । विमानस्थल सेवाप्रदायक व्यक्तिका सवारी साधनबाहेक यात्रुसम्बद्ध अन्य सवारीसाधनको हकमा यात्रु लिई आउने जुनसुकै साधन यात्रु/सामान अवतरण गर्नासाथ पार्किङतर्फ नगई तत्कालै बाहिर प्रस्थान गर्न अनुरोध गरिएको छ । विमानस्थल पास भएका वा परिचयपत्र भएका तथा यात्रु लिएर आएकाबाहेक अन्य खाली ट्याक्सीलाई प्रवेश निषेध भएकाले चक्रपथनजीकको विमानस्थल प्रवेशद्वारबाट प्रवेश गर्न समेत भनिएको छ । यस्तै, यात्रुसँग पहिले नै सम्पर्क/पहिचान भई लिन आउने होटलका वा निजी गाडीको हकमा जहाज अवतरणको ५ देखि १० मिनेटअघि मात्र प्रवेश भई यात्रु लिएर तत्काल फिर्ता हुन आग्रह गरिएको छ । सवारीसाधनमा जोर–बिजोर प्रणाली बिमस्टेक सम्मेलन अवधिमा ट्राफिक व्यवस्था सहज बनाउन काठमाडौं उपत्यकामा सबै सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिने भएको छ । भदौ १३, १४ र १५ गते उपत्यकाभित्र चल्ने सबै सवारीसाधनमा यो नियम लागू हुने यो साताका ३ दिन सबै सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अत्यावश्यकबाहेकका सबै निजी र सार्वजनिक चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनमा यो नियम लागू हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)