ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बल्खु तरकारी बजार : व्यवसायी धमाधम प्यानमा दर्ता

Aug 28, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । बल्खु तरकारी बजारका व्यवसायीहरू धमाधम प्यानमा दर्ता हुन थालेका छन् । सरकारले बजार अनुगमनलाई तीव्र बनाएपछि व्यवसायीहरू महानगरको वडा कार्यालयमा दर्ता हुँदै प्यान नम्बर लिन थालेका हुन् । बल्खु तरकारी बजारका अध्यक्ष मोहनकुमार बस्नेतका अनुसार हाल ६० ओटा स्टलले प्यान नम्बर लिई व्यवसाय दर्ता गराइसकेका छन् । २ सय व्यवसायीहरू महानगरपालिकामा दर्ता भइसकेका छन् । हाल सञ्चालित सटरहरूको सङ्ख्या २ सय ४० छ । केही व्यवसायीहरू भारतीय नागरिक भएको हुँदा उनीहरूलाई दर्ताको प्रक्रियामा लैजान समस्या परिरहेको छ । बस्नेतका अनुसार बल्खु तरकारी बजारभित्रका सबै व्यवसाय असारभित्रै दर्ता गर्ने प्रयास यसअघि नै भएको थियो । सरकारी प्रक्रियामा अलमल हुँदा त्यो प्रयास सफल हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘असारमा व्यवसाय दर्ता गर्ने भनिएको थियो । स्थानीय तहमा जाने कि कहाँ जाने ? भन्नेबारे अन्योल रहँदा सबै दर्ता हुन सम्भव रहेन ।’ उनका अनुसार ठूलो कारोबार गर्ने बजारभित्र सञ्चालित सबै तरकारी व्यवसायीलाई छिट्टै प्यान लिन आफूले ताकेता गरेको बताए । उनका अनुसार भारतीय नागरिकबाहेक अन्य तरकारी व्यवसायी २ हप्ताभित्र महानगरमा दर्ता हुनेछन् । बल्खु तरकारी बजार कम्पनी ऐनअन्तर्गत खोलिएकाले सबै व्यवसायीको दर्ता कागज तथा बिलहरू आफूसँग सुरक्षित भएको समेत उनको भनाइ छ । उनले सो बजारलाई देशकै नमूना बजार बनाउन व्यवसायीलाई अत्याधुनिक सुविधा दिएको समेत बताए । उनका अनुसार एउटा सटरको भाडा मासिक ५–९ हजार छ । त्यसमा बजार समितिले फोहोर व्यवस्थापन, विद्युत्, सीसीटीभीलगायतको सुविधा दिइरहेको छ । यसैबीच, सरकारले बल्खुको तरकारी बजारमा अनुगमन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति विभागले कालीमाटीपछि बल्खुस्थित तरकारी बजारमा सोमवार बिहान ४ बजे अनुगमन गरेको हो । विभागका संरक्षण अधिकृत दीपक पोखरेलका अनुसार अनुगमनमा बाधा पु¥याउन खोज्ने १ जना व्यापारीलाई सोहीक्रममा पक्राउ गरिएको छ । बल्खु तरकारी बजारमा अनुगमनका क्रममा व्यापारी रवि साहले अनुगमन टोलीलाई बाधा पु¥याउन खोजेपछि पक्राउ गरिएको हो । पोखरेलकै नेतृत्वमा गएको टोलीले सबै स्टलमा अनुगमन गरेको छ । व्यवसायीहरू कहाँ दर्ता छन् भन्नेबारे अनुगमन गर्दा धेरैजसो महानगरपालिकामा दर्ता भएको अनुगमन टोलीले पाएको थियो । केही भने विना दर्ता सञ्चालनमा आएको र उनीहरूलाई सचेत गराइएको पोखरेलले जानकारी दिए । पोखरेलले भने, ‘सबैले महानगरपालिकाको वडा कार्यालयमा दर्ता गरेका रहेछन्, तर प्यान दर्ता भने थोरैले गरेको पाइयो ।’ उनका अनुसार उक्त तरकारी बजार कम्पनीले चलाएको भएकोले विभागले ढक र तराजुको कागज कम्पनीसँग माग गरेको छ । अनुगमनका क्रममा सञ्चालक कम्पनीलाई सबै कागजातहरू विभागमा पेश गर्न विभागले निर्देशन दिएको छ । अनुगमनका क्रममा व्यवसायीले गाडीमा आएको सामानको बिल राखेको पाइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)