ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दैनिक ३० किलो सुन आयात गर्न गृहकार्य

Sep 2, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । बजारमा मागको अनुपातमा आयात कोटा कम भएका कारण सुनको अभाव भइरहेको व्यवसायीको गुनासो अब सुनुवाइ हुने भएको छ । सुनचाँदी कारोबार कार्यविधिलाई संशोधन गरी दैनिक ३० किलो सुन आयात गर्न पाउन सक्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको छ । चाडपर्व तथा विवाहलाई लक्षित गरेर ६ महीनाको अवधिसम्म दैनिक सुनको आयात बढाउन गृहकार्य भइरहेको राष्ट्र बैङ्कले बताएको छ । नेपाल राष्ट्र बैङ्कले चाडपर्व तथा विवाहको सिजनलाई ध्यानमा राखी सुन आयातको सीमालाई बढाएर दैनिक ३० किलोसम्म ल्याउन पहल गरिएको नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, सुनचाँदी कला व्यवसायी सङ्घ र सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त टोलीले सुन विक्री हुने विशेष चाडपर्व तथा विवाहको सिजनमा दैनिक ३५ किलो सुन आयात गर्न राष्ट्र बैङ्कसमक्ष अनुरोध गरेकाले यस्तो पहल शुरू गरिएको उनले बताए । प्रवक्ता पौडेलका अनुसार कार्यविधि संशोधनका लागि मन्त्रालयअन्तर्गतकोे सम्बद्ध महाशाखाका सहसचिवको अध्यक्षतामा उच्च स्तरीय समिति गठन गरिसकिएको छ । ‘यसमा नेपाल राष्ट्र बैङ्कको समेत प्रतिनिधित्व रहेको छ । समितिले बजारमा सुनको माग र आपूर्तिको व्यवस्थाबारे अध्ययनसँगै सिफारिश गरेर अहिले भएको कोटा बढाउन सुझाएको हो,’ उनले भने, ‘गत साउन मसान्ततिर उद्योग मन्त्रालयलाई चाडपर्व र विवाहको मौसमका कारणले आगामी ६ महीनासम्मका लागि प्रतिदिन ३० किलो सुन आयात गर्न सक्ने गरी कार्यविधिमा आवश्यक व्यवस्था गरिदिन अनुरोध गरेका छौं ।’ समितिले स्थायी संयन्त्रको अवधारणा राखेर कार्यविधिमा संशोधन गर्न पनि सिफारिश गरेको र यसबारे मन्त्रालयले प्रक्रिया थालिसकेको उनले बताए । हाल दैनिक २० किलो सुन आयात गर्न पाउने नीतिगत व्यवस्था छ । यसअघि गतवर्ष पनि नेपाल राष्ट्र बैङ्कले फागुन मसान्तसम्मका लागि सुन आयातको कोटा बढाएर दैनिक २५ किलो आयात गर्न पाउने व्यवस्था गरेको थियो । गतवर्ष विदेशी विनिमय व्यवस्था विभागबाट जारी सुन आयात तथा विक्री वितरण कार्यविधि २०६८ को परिच्छेद २ को दफा ४ मा सुनको दैनिक आयात परिमाण १५ किलोबाट २० हुने तर २०७३ को फागुन मसान्तसम्म दैनिक २५ किलो आयात गर्न पाइने उल्लेख छ । सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष ज्योत्स्ना श्रेष्ठले बजारमा सुनको माग बढेकोले पसलमा भएको सुनमा कमी आउन थालेपछि राष्ट्र बैङ्कलाई कोटा बढाउन पटकपटक माग गरिएको बताइन् । ‘अब तीज, दशैं, तिहार, छठजस्ता चाडपर्व नजिकिँदै छन्, साथै विवाहको मुख्य सिजन मङ्सिर, माघ, फागुन, वैशाख, जेठ र असारमा गरगहनाको माग दैनिक ३५ केजीसम्म हुने गर्छ,’ उनले भनिन् । उनका अनुसार अहिले चितवन, बुटवल, पोखरा, भैरहवालगायत स्थानका सुन व्यवसायीले गरगहनाको अर्डर लिन छाडेका छन् । सुनको अभावका कारण पसलै बन्द गर्नु परेको स्थिति रहेको उनले बताइन् । राष्ट्र बैङ्कले सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अनुमति वाणिज्य बैङ्कलाई मात्र दिएको छ । उनीहरूले दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, स्वीट्जरल्याण्डलगायत मुलुकबाट सुन आयात गर्ने गर्छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, सुनचाँदी कला व्यवसायी सङ्घ र सुनचाँदी रत्न तथा आभूषण महासङ्घको सिफारिशमा बैङ्कहरूले आयातित सुन गहना व्यवसायीलाई विक्रीवितरण गर्दै आएका छन् । सुनचाँदी व्यवसायीहरूले भने २८ ओटा वाणिज्य बैङ्कले पालैपालो सुन मगाउने तर प्रत्येक दिन ढिला मगाउने तथा सुनको कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्ममात्र गर्ने भएकाले २० किलो सुन पनि पूरा खरीद गर्न नपाएको गुनासो गरेका छन् । व्यवसायीहरूले केन्द्रीय बैङ्कसँग सुन आयात गर्न पब्लिक लिमिटेड कम्पनी खोल्न अनुरोध गर्दै आएको पनि अध्यक्ष ज्योत्स्ना श्रेष्ठले जानकारी दिइन् । राष्ट्र बैङ्कले अघिल्लो वर्षदेखि बैङ्कहरूले टुक्रा सुन पनि आयात गर्न सक्ने व्यवस्था गरेको थियो । वाणिज्य बैङ्कहरूलाई कम्तीमा किलोको परिमाणमा ढिक्का सुन विक्री गर्ने गरेको नेपाल राष्ट्र बैङ्कले यसभन्दा थोरै परिमाणको टुक्रे सुन पनि किन्न पाइने सुविधा दिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)