ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सङ्कटमा बेनी–जोमसोम सडक

Sep 3, 2018  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । लगातारको वर्षा, भिरालो जमीन, भूमिगत पानी, कमजोर भू–बनावट, कालिगण्डकी नदीको कटानले बेनी–जोमसोम सडकखण्ड छियाछिया परेको छ । उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एक मात्र राजमार्गका दर्जनौं ठाउँ पहिरोका कारण उच्च जोखिममा छन् । केही दिनयताको भारी वर्षापछिको बाढीपहिरोले म्याग्दी र मुस्ताङमा थुप्रै स्थानमा चर्किएको र भासिएको छ । अर्कोतर्फ नदीकटानले सडक भासिएपछि पैदल यात्रीसमेत अलपत्र परेका छन् । नदी कटानले छियाछिया भएका सडकमा कडा चट्टानसँगै खसेको पहिरो पन्छाउन हम्मेहम्मे भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । उनका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–४ काभ्रे भीरमा सडक कटानले पैदल आवतजावतमा समेत समस्या भएको छ । थासाङको काभ्रे भीर, देउराली क्षेत्रमा बस्तीसँगै खेतीयोग्य जमीनसमेत कटानको उच्च जोखिममा परेको छ । सडकखण्डका विभिन्न भागमा नयाँ तथा पुराना पहिरोले दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ । पहिरोले भन्दा नदी कटानले सडक बगाएपछि तत्काल मर्मतमा ठूलो बजेटको व्यवस्था गर्नुपर्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । उनले सडकखण्डअन्तर्गत उत्तरी म्याग्दीका विभिन्न स्थानमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको बताउँदै भौगर्भिक अध्ययनको आवश्यकता रहेको बताए । उनले गाउँपालिकाबाट बजेटको अभाव र विभागबाट मर्मतमा ढिलासुस्तीले जनतालाई सास्ती भएको बताए । स्तरोन्नतिमा डोजर, स्काभेटरलगायतको प्रयोगले समेत धेरै ठाउँमा चर्किएका पहाडबाट कुनै पनि बेला पहिरो खसेर सडक बन्द हुन सक्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । सडकखण्डका केही स्थानमा जमीन निकै कमजोर भएकाले पनि पटकपटक समस्या आउने गरेको प्राविधिकको भनाइ छ । हरेक वर्ष कालिगण्डकीले धार परिवर्तन गरिरहेको छ । सडक भासिएपछि कल्भर्ट, नाली र सडक सबै क्षतविक्षत बनेका छन् । करिडोरअन्तर्गत बेनी–भुरुङ तातोपानीसम्म शर्मा युनाइटेड जेभी, शर्मा गजुरमुखी जेभी र मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङबाट जोमसोमसम्म कोशी कन्स्ट्रक्शनले समेत बाढीपहिरोका कारण काममा बाधा पुगेकाले अध्ययन गरेर मात्र मर्मत गर्नुपर्ने बताउँदै आएका छन् । हिलाम्मे सडक, सडकमाथिको भीरबाट खस्ने ढुङ्गा र पहिरोले यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपरेको अवस्थामा वैकल्पिक बाटोबाट यात्रा गर्न अनुरोध गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । उनले सडक पूरै धसिएको ठाउँमा तत्काल नयाँ ट्र्याक खोल्नेबारे पहल भएको बताए । साउन, भदौ र असोज महीनामा सडकखण्डमा निकै सास्ती हुने गरेको छ । सडक अवरुद्ध हुँदा यात्रु वैकल्पिक मार्गबाट यात्रा गर्न बाध्य छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)