ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बहुमूल्य प्राकृतिक स्रोत अलपत्र

Sep 3, 2018  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । कुनै बेला गाउँ नै पालेको पर्वतको महाशिला–६, फलाम खानीस्थित आधा दर्जन स्थानका फलाम खानी अहिले हराएका छन् । २०१० सालअघि यही खानीबाट काँचो फलाम निकालेर यहाँका करीब ४ सय परिवारले आफ्नो गुजारा चलाएका थिए । स्थानीय ८६ वर्षीय परामदास सुनार २०१० को दशकअघि यहाँको धाउखानी वनमा फलाम निकालेको सम्झिन्छन् । यहाँका खानीमा फलाम उत्खनन हुन छाडेको ६५ वर्ष भइसक्यो । उनी त्यतिबेला यहाँको फलाम नेपालसहित भारतका विभिन्न शहरमा भरिया लगाएर विक्री गर्न लगेको बताउँछन् । धाउखानी जङ्गलको २ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको फलाम खानीकै कारण यो गाउँको नाम फलामखानी राखिएको उनको भनाइ छ । यहाँको फलामखानी तत्कालीन सरकारले वन मासिएको भन्दै बन्द गराएको थियो । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङमा तामाको खानी छ । गुर्जा गाउँको शिरानमा चारओटा ठूलाठूला तामाखानी छन् । कुइनेमङ्गलेको नर्जाखानीमा पनि तीनओटा तामाखानी छन् । ओखरबोटमा ठूलो ढुङ्गाखानी छ । म्याग्दीका जुनजुन गाउँमा तामाखानी छन्, त्यहाँका जानकारका अनुसार करीब २ सय वर्षअघिसम्म तिनै खानीका कारण यहाँ बस्ती बसेका थिए । तारे भिरमा भएका खानीमा पसेर महीनौं बिताएर तामा झिकेर जीविकोपार्जन गर्न यहाँ दर्जनौं छन्त्याल जाति बसाइँ सरेर आएका थिए । कुइनेमङ्गले र ओखरबोटमा पनि तामाकै खानी छ । यहाँका तामाखानीका ओढारभित्र पसेर हेर्दा तामा टल्किन्छ । उत्खनन नहुँदा तामाको खानी पुरिँदै गएको छ । मालिका गाउँपालिका–४ खटेनडाँडामा ठूलो तामाको खानी छ । धौलागिरिकै मच्छिम, रघुगङगा–६ ठाडाखानी रझिँखानीमा पनि तामाकै खानी छ । म्याग्दीमा सबैभन्दा बढी तामाखानी रहेको पाकापुस्ता बताउँछन् । स्थानीय खनेलहरूले रैथाने विधिबाट उत्खनन गरेको मालिका गाउँपालिका–४ खटेनडाँडास्थित तामाखानी जिल्लाकै मुख्य खानी हो । स्थानीय दीर्घनारायण भट्टचन र दिलीप शेरचनले २०१८ सालदेखि उत्खनन गरे पनि आधुनिक प्रविधिसँगै अनुमतिको अभावमा २०४६ सालदेखि तामाखानी बन्द छ । शेरचनका अनुसार खटेनडाँडाको भिरमा कम्तीमा २५ ओटाभन्दा बढी तामा निकाल्ने गरिएका सुरुङ छन् । ती सुरुङ पुरिँदै गएको शेरचनले बताए । शालिग्राम संरक्षणमा चासो कालीगण्डकी नदीमा बालुवा र गिट्टी मात्रै पाइन्न, शालिग्राम पाइने विश्वकै एक मात्र नदीको रूपमा समेत परिचित छ । कालीगण्डकीतिरमा पाइने शालिग्राम चोरी भइरहेको छ । यसको संरक्षण गर्नेतर्फ कसैले ध्यान नदिएको सर्वसाधारण बताउँछन्् । कालीगण्डकीको शालिग्राम शिला चोरी भएर लोप हुने खतरा बढेको विश्व हिन्दू महासङ्घ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले बताए । उनका अनुसार यसको संरक्षण गर्न निजी क्षेत्र सक्दैन भने सरकारी पक्ष उदासीन छ । २ वर्षअघि कालीगण्डकी तटीय क्षेत्रका अगुवाले शालिग्राम संरक्षण गर्न देवघाट–दामोदरकुण्ड पैदल यात्रा गर्ने भने पनि त्यो सफल हुन नसकेको अभियानका अगुवा एवम् पृथ्वीनारायण क्याम्पसका प्राध्यापक कृष्णप्रसाद पोख्रेल बताउँछन् । शालिग्रामको संरक्षण गर्न र यसको महŒव झल्काउन सङ्ग्रहालय निर्माण गर्न थालिएको बाग्लुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बताए । दामोदार कुण्डदेखि बग्ने कालीगण्डकीमा शालिग्राम शिला पर्याप्त पाइने गरेको छ । विश्वको एक मात्र नदी कालिगण्डकीमा मात्र पाइने शालिग्राम सर्वदेवमय प्रत्यक्ष देवता भनेर शास्त्रमा उल्लेख गरिएको छ । हिन्दू धर्मशास्त्रअनुसार शालिग्रामलाई भगवान् विष्णुको स्वरूपका रूपमा मान्दै आएकाले यसको आराधनाले सुख, शान्ति, समृद्धि मिल्ने विश्वास रहिआएको छ । सुन पनि पाइन्छ कालीगण्डकीमा कालीगण्डकीमा प्लेसर गोल्ड अर्थात् सुनसमेत पाइन्छ । यहाँको बालुवामा सुन भेटिनुलाई यसको उद्गम क्षेत्र दामोदर कुण्ड र कालीगण्डकी बग्ने क्षेत्रहरूमा सुनको खानी रहेको प्रमाणको रूपमा लिने गरिन्छ । म्याग्दीको दाना र बगुवाखोलामा सुन उत्खनन गर्न खानी विभागबाट १० वर्षअगाडि अनुमतिसमेत लिइएको थियो । तर, अनुमति लिए पनि उत्खनन भने भएन । कालीगण्डकी नदी तटीय क्षेत्रमा सुनको खानी रहेकोबारे सरकारी पक्षबाट पर्याप्त अनुसन्धान र अन्वेषण हुन नसकेको बाग्लुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जयराम भारी बताउँछन् । नुनखानी लोप मुस्ताङको थाकखोला कुनै बेला नुनका लागि प्रख्यात थियो । अहिले यहाँका नूनका स्रोत हराएका छन् । थाकखोलाको नूनले लुतो हुने हल्ला फिँजाएर २०४६ सालतिर खानीको नुन मान्छेले खान छोडेको पाकापुस्ता बताउँछन् । अहिले पनि पानीका मूलबाट नुनिलो पानी बग्ने गरेको छ । प्याकेटमा प्रशोधित नुन बजारमा आउन थालेपछि थाकखोलाको नुनखानी अलपत्र छ । म्याग्दीको सिँगा, मुदी र नारच्याङमा नुनिलो पानीका कुण्ड छन् । यी कुण्ड प्राकृतिक उपचार केन्द्रको रूपमा प्रयोगमा आएका छन् । बाग्लुङका खानी भूगर्भमै बाग्लुङ जिल्ला पनि प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ । यहाँका प्राकृतिक स्रोतअन्तर्गत विभिन्न धातुका खानी ‘माल पाएर चाल नपाए झैं’ भन्ने लोक उखान जस्तै उपयोगविहीन छन् । बाग्लुङका कतिपय गाउँको नाम पछाडि खानी जोडिएर आएका छन् । पाण्डवखानी, राङखानी, सिसाखानी, खुँखानी, नर्जाखानी, लेखानी, बुँखानी आदि गाउँ खानीकै आधारमा राखिएका नाम हुन् । राँगाको गर्धनजत्रा तामाका पाता निस्कने भएकाले राँगाखानी भनेर बूढापाकाले गाउँको नाम नै राँगाखानी राखेका तर पछि अपभ्रंश हुँदै राङखानी भनेर बोलाउन थालिएको स्थानीय दलबहादुर श्रीष बताउँछन् । अहिले तामाखानी पुरिँदै गएको छ । कति सालसम्म तामा निकाल्ने गरिन्थ्यो भन्ने कुरा जीवित रहेका कसैलाई थाहा नभएको उनले बताए । २०३५ सालमा पाण्डवखानीमा सरकारले वैज्ञानिक अनुसन्धान गरेर तामा भएको निष्कर्ष निकालेको स्थानीय अगुवा तुलबहादुर पुनले बताए । त्यसपछि कुनै निकायले खोजीनिती गरेको छैन । गाउँको नामपछाडि खानी जोडिएका ठाउँका खानी भूगर्भमै छन् । सिसाखानीमा सिसाको खानी रहेको छ । खुँखानी र नर्जाखानीका छन्त्याल समुदायले कुनैबेला तामा र फलाम उत्खनन गरेर जीविकोपार्जन गरेको इतिहास भेटिन्छ । खुँखानीका जीवन छन्त्याल आफ्ना पुस्ता फलाम निकाल्ने पेशा छाडेर तराई पसेको बताउँछन् । अहिले पनि यी गाउँमा ठूला ठूला सुरुङ भेटिन्छन् । सरकारको कर बढी र दक्ष प्राविधिकको अभाव हुँदा बन्द भएका खानीलाई आधुनिक स्रोत, साधन र शीपको प्रयोग गरी पुनः सञ्चालनमा ल्याउन सके स्थानीय समुदायसँगै राष्ट्रकै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ढुङ्गाखानी संरक्षणको पर्खाइमा पर्वतको जलजला गाउँपालिकामा दर्जनौं ठाउँमा स्लेट ढुङ्गाखानी रहे पनि संरक्षण भएको पाइन्न । ढुङ्गाखानी जथाभावी उत्खनन गर्न थालेपछि गाउँपालिकाले हालै संरक्षण गर्ने योजना बनाएकोे छ । गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले भएका ढुङ्गाखानीबाट अवैध रूपमा उत्खनन गरेर चोरी हुन थालेपछि संरक्षण गर्न थालिएको बताए । भएका ढुङ्गाखानीलाई गाउँपालिकाले खोजी गरी उत्खनन बन्द गर्न थालेको उनले जानकारी दिए । जलजलाका बाँसखर्क, मल्लाल र लेखफाँटमा स्लेट ढुँगाखानी रहेका छन् । त्यस्तै, मोदी गाउँपालिकाको माटेपानीमा पनि ठूलो स्लेट ढुङ्गाखानी रहेको छ । बाग्लुङको गलकोट, मल्म, हरिचौर, अर्गल, हिललगायत ठाउँमा मार्बल खानी रहेका छन् । यहाँका खानीबाट स्थानीय युवाले मार्बल र स्टेल ढुङ्गा निकालेर बेच्दै आएका छन् । बाग्लुङमा पाइने कालो रङ्गको मार्बल पोखरा, बाग्लुङ, कुश्मा र काठमाडांैमा विक्री हुँदै आएको छ । गल्कोट नगरपालिका उपप्रमुख रेणुका काउचा नगरपालिकाका ढुङ्गाखानीको संरक्षण र उपयोगिताको अधिकार स्थानीय तहमा आए पनि आवश्यक कानून नबन्दा समस्या भएको बताउँछिन् । प्रदेश सरकारले तनहुँको व्यासमा दुई ठाउँमा, स्याङ्जाको वालिङका तीन ठाउँमा, भिरकोट र बिरुवामा पनि चुनढुङ्गाको खानी रहेको स्थानीयको जानकारीबाट थाहा भएको बताएको छ । ती खानीको अन्वेषण र सर्वेक्षणको तयारी भइरहेको छ । सरकारले खानी तथा भूगर्भ विभागबाट केही खानीलाई कम्पनीमार्फत र केहीलाई व्यक्तिगत रूपमा उत्खननको अनुमति दिएको छ । लमजुङको क्होलोसोथार गाउँपालिकामा रहेको क्वार्ज ढुङ्गाखानीको पनि उत्खनन हुन सकेको छैन । यहाँ १ किलोमिटर क्षेत्रमा ढुङ्गाखानी रहेको स्थानीय जितबहादुर गुरुङ बताउँछन् । चुनढुङ्गाका खानी गण्डकी प्रदेशमा धेरै छन् । प्रदेश सरकारको योजना प्रदेश सरकारले ११ जिल्लाका २७ ठाउँमा धातुसहित अन्य खनिज पदार्थ रहेको तथ्याङ्क आफूसँग रहेको जानकारी गराएको छ । सात ठाउँमा खानी उत्खननका लागि अनुमति दिएको बताएको छ । २० ठाउँका प्राकृतिक स्रोतको रूपमा रहेको खनिज पदार्थको सर्वेक्षण हुन नसकेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बुद्धिसागर पौडेलले बताए । विभिन्न मितिमा केन्द्र सरकारअन्तर्गत खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले पत्ता लगाएका खानीको खोजी गरेर सरकारले तिनीहरूको वैज्ञानिक उत्खनन गर्ने योजना बनाउन थालेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए । कानून र स्पष्ट नीतिको अभावले प्राकृतिक रूपमा रहेका नदी तथा खानीहरूको व्यवस्थापनमा नतिजामुखी काम गर्न नसकिएको उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)