भदौ १८, काठमाडौं । अनुमति नलिई मदिरा विक्री वितरण गरेको पाइएमा कानून तथा निर्देशिका बमोजिम तुरुन्त कारवाही गर्न सोमवार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजालासले मदिरा ऐन, २०३१ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याई अनुमति नलिई मदिरा विक्री गरेको पाइएमा कारवाही गर्न सरकारलाई आदेश दिएको हो ।
नेपालमा मदिरा ऐन, २०३१ सालमा नै जारी भएका र सोबमोजिम निर्देशिका पनि प्रकाशित गरिएको भएपनि त्यस्ता दस्तावेजहरु कार्यान्वयनमा नआएको उल्लेख गर्दै जुरी नेपालका अधिवक्ता विष्णुप्रसाद पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।