ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंको टिकट बुकिङ : खुल्नै कठिन

Sep 10, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । दशैंका लागि टिकट बुकिङ खुलाउन सरकारलाई हम्मेहम्मे पर्ने देखिएको छ । यातायात क्षेत्रको सिण्डिकेट तोड्न सरकारले मुलुकभरका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता गर्न आह्वान गरे पनि व्यवस्थापनमा चासो नदिँदा अहिले टिकट बुकिङ खुल्नै कठिन देखिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यातायात व्यवस्थापनमा सरकार चुक्दा अग्रिम बुकिङ अन्योलमा परेको अभियानलाई बताए । उनले अग्रिम बुकिङ खुलाउन व्यवसायी तयार रहे पनि सरकार तयार नरहेको स्पष्ट पारे । उनले भने, ‘टिकट बुकिङ खुलाउनेसम्बन्धमा छलफल गर्न व्यवसायी तयार छौं, तर सरकारले चाहेको छैन ।’ उनका अनुसार यातायात व्यवस्था विभागमा केही दिनअघि दशैंको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा व्यवसायीसँग सामान्य छलफल गरिएको थियो । सो बैठक निष्कर्षहीन भएपछि अर्को बैठक भने हालसम्म बस्न सकेको छैन । सिटौलाका अनुसार विभागका अधिकारीहरूको कार्यव्यस्तताको कारण देखाउँदै यसबारेमा छलफल गरिएको छैन । सिटौलाले अहिलेकै अवस्थामा दशैंका लागि सवारी व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताए । उनका अनुसार सरकारले सिण्डिकेट हटाउने नाममा समितिमा दर्ता यातायात संस्था खारेज गरे पनि यात्रुको जीवनबीमा, रूट पर्मिट व्यवस्थापन लगायतको विषयमा सरकार चुकेको छ । उनले भने, ‘यात्रुको बीमा समितिबाट भएको थियो, सरकारले समिति खारेज गरेपछि कसले बेर्होर्ने भन्ने अन्योल छ ।’ यसअघि विभागमा भएको बैठकमा व्यवसायीले दशैंमा कुनै अप्रिय दुर्घटना भएको अवस्थामा बीमावापतको रकम कसले उपलब्ध गराउने भन्ने विषय टुङ्ग्याउनुपर्नेमा जोड दिएका थिए । बैठकमा यातायात क्षेत्रलाई सही रूपमा व्यवस्थापन गर्न सरकारको के कस्तो मार्गचित्र छ भनी व्यवसायीले खोजेका थिए । यातायात व्यवसायीका अनुसार बैङ्कमा तरलताको कारण देखाउँदै सवारी कर्जा सहज रूपमा नपाउँदा यातायात व्यवसायीले नयाँ गाडी थप्न पाएका छैनन् । यसले गर्दा पनि दशैंमा गाडीको चरम अभाव हुने देखिन्छ । सरकारी पक्षले भने दशैंका लागि टिकट बुकिङ खुलाउने विषयमा छिट्टै छलफल गरिने बताएको छ । यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले यातायात क्षेत्रलाई व्यवस्थापन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, ‘व्यवसायीका जायज समस्याहरू सम्बोधन गर्न विभाग समन्वयकारी भूमिका निर्वाह गर्न तयार छ ।’ उनका अनुसार व्यवसायीले उठाएका रोक्का खाता सुचारु र वैज्ञानिक भाँडादरका विषयमा सरकारले छलफल गरी छिट्टै दशैंको बुकिङ खुल्ला गर्नेछ । टिकट बुकिङ खुलाउन ढिलाइ किन भएको ? भन्ने अभियानको प्रश्नमा निर्देशक उपाध्यायले विभागका महानिर्देशक र मन्त्रीको व्यस्तताले व्यवसायीसँग छलफल हुन नसकेको बताउँदै मङ्गलवार छलफल गरी सो विषय टुङ्ग्याइने जानकारी दिए ।
गोकर्णप्रसाद उपाध्याय निर्देशक, यातायात व्यवस्था विभाग
  • वैज्ञानिक भाडादर निर्धारण गर्न सरकार सकारात्मक
  • यातायात क्षेत्रका समस्या समाधान गर्न समन्वय गर्छौं
  • महानिर्देशक र मन्त्रीको व्यस्तताले रोकिएको छलफल अब हुन्छ
सरोज सिटौला महासचिव, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ
  • कम्पनीमा दर्ता गरिए पनि यातायात क्षेत्रको व्यवस्थापन भएन
  • समिति भङ्ग गरिएपछि यात्रुको बीमा अन्योलमा पर्‍यो
  • बैङ्किङ तरलताका नाममा सवारी कर्जा नपाउँदा नयाँ गाडी छैन
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)