काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ ओटा वाइड बडी जहाज खरीद प्रकरणमा अनियमितता भएको आशङ्का गरी नेपाल वायुसेवा निगममाथि छानविन प्रक्रिया अगाडि बढाएको छ । अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले सो वाइड बडी जहाज खरीद प्रकरणमा प्रारम्भिक अनुसन्धान शुरू भएको आर्थिक अभियानलाई जानकारी दिए ।
निगमले केही महीनाअगाडि २ ओटा वाइड बडी जहाज खरीद गर्दा अनियमितता भएको आशङ्का गरिँदै आएको थियो । जहाज नेपाल आएपछि निगमले एउटाको नाम अन्नपूर्ण र अर्कोको मकालु राखेको छ ।
निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग खरीद गरेको हो । अन्नपूर्ण गत असार १४ गते नेपाल आइपुगेको हो भने मकालु त्यसको १ महीनापछि यहाँ ल्याइएको हो । एउटा जहाजको मूल्य २१ अर्ब ९० करोड रुपैयाँ भएको बताइएको छ ।
२ जहाज खरीद गर्दा नक्कली कम्पनी खडा गरिएको भनी आरोप लाग्दै आएको छ । जहाज नेपाल आउनासाथ अनियमितता भएको आशङ्का गरिएको र त्यसको प्रतिवाद गर्दै नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जहाज खरीद प्रकरणमा कुनै अनियमितता नभएको र यदि त्यसो भएको पाइएमा कसैलाई पनि नछाड्ने बताएका थिए ।
अनियमितता भएको आरोप लागेपछि अख्तियारले त्यसमा चासो दिँदै प्रारम्भिक छानविन थालेको हो । दङ्गालले भने, ‘हामीले जहाज खरीद प्रकरणमा प्रारम्भिक अनुसन्धान थालेका छौं ।’ प्रारम्भिक अनुसन्धानबाट अनियमितता भएको पाइएमा थप कारबाही अगाडि बढाइने अख्तियारले बताएको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर उक्त जहाज खरीद गरेको हो । ऋण लिँदा सरकार निगमको लागि जमानी बसेको उल्लेख गरिएको छ । एउटा जहाजमा २ सय ७४ ओटा सिट छन् । यी जहाज नेपालमा आएपछि पर्यटकको सङ्ख्या बढ्ने र नेपालको पर्यटन व्यापार पनि अन्तरराष्ट्रिय स्तरमा बढ्ने विश्वास गरिएको थियो ।