काठमाडौं । पछिल्लो समय कृषि वस्तुमा विषादीको प्रयोग अत्यधिक बढेको छ । सरकारले कृषिमा ‘रासायनिक युक्त अग्र्यानिक उत्पादन’लाई जोड दिए पनि कृषि वस्तुमा विषादीको प्रयोग भने बढ्दो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७४/७५ मा मात्रै ५ सय ७४ टन विषादी विदेशबाट भित्रिएको छ । तरकारी, फलफूललगायत अन्य कृषिजन्य वस्तुको उत्पादनमा सो विषादीको प्रयोग भएको छ । कीटनाशक, रोगनाशक र झारनाशकका नाममा ती विषादी आयात गरिएका हुन् । तिनको आयातमा रू. ६९ करोड खर्च भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा आयात हुने विषादीमध्ये ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको छ । यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१४ मा गरेको एक अनुसन्धानका आधारमा तरकारी तथा फलफूलमा ५३ प्रतिशत कृषकले विषादी प्रयोग गर्नेगरेको प्रतिवेदन सार्वजनिक भएको थियो ।
यसरी विषादी प्रयोग बढेसँगै उपभोक्ताको स्वास्थ्य थप जोखीममा परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । मङ्गलवार राजधानीमा कञ्जुमर आई नेपालद्वारा आयोजित कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष विमला खनालले मुलुकमा विषादीको प्रयोग बढ्दा संविधानमा उल्लेख भएको उपभोक्ताको खाद्य स्वच्छताको अधिकार खोसिएको बताइन् । विषादीको बारेमा किसान सचेत नरहेको भन्दै उनले विषादीको न्यूनीकरणमा राज्य गैरजिम्मेवार देखिएको बताएकी छन् । उनले विषादीको प्रयोगलाई राज्यले संयन्त्र बनाई व्यवस्थित गर्न जरुरी रहेको बताइन् । कञ्जुमर आईका अनुसार विश्वभर हरेक वर्ष ४ करोड मानिसलाई विषादीले असर गर्ने गरेको छ । विषादीको असरबाटै वर्र्षेनि ३ लाखले ज्यान गुमाउने गरेका छन् ।
कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले अन्य मुलुकको तुलनामा नेपालमा विषादीको प्रयोग धेरै कम रहेको बताउँदै यसमा सरकार सचेत रहेको बताए । उनका अनुसार सरकारले रासायनिक मल प्रयोगलाई कम गर्न सही रूपमा नियमन गर्नेछ । उनले भने, ‘विषादीको प्रयोगमा हामी पछि नै छौं, बढ्दो प्रयोगलाई रोक्न सरकारले नियमन गर्छ ।’ कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरणको खाँचो रहेको भन्दै उनले सरकारले यसतर्फ ध्यान दिइरहेको बताए । मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले नियमनका निम्ति छुट्टाछुट्टै संयन्त्र हुँदा प्रभावकारी रूपमा काम नदेखिएको बताए ।
साल्ट ट्रेडिङ कर्पोरेशनका कृषि परामर्शदाता भगवानप्रसाद खतिवडाले रासायनिक मलको आपूर्ति पूर्ण रूपमा तेस्रो मुलुकबाट ग्लोबल टेण्डर प्रक्रियाद्वारा ल्याउनुपर्ने बाध्यताका कारण बाली सिजनमा मल आपूर्तिमा समस्या देखिएको बताए । उनका अनुसार यसले सिङ्गो उत्पादकत्वमा असर पर्दै आएको छ ।