काठमाडौं । पछिल्लो समय अमेरिकी डलरसँग नेपाली रुपैयाँ (नेरू)को विनिमय दर खस्कदै जाँदा अर्थतन्त्रमा प्रतिकूल प्रभाव पर्न सक्नेतर्फ सरोकारवालाहरूले सङ्केत गरेका छन् । वस्तु तथा सेवा आयातमा ठूलो मात्रामा डलर खर्चनु पर्ने तर निर्यात न्यून भएको अर्थतन्त्रमा आफ्नो मुद्रा अवमूल्यन हुँदा नकारात्मक प्रभाव बढी पर्ने अर्थथास्त्रीहरूको तर्क छ ।
नेपाल र भारतको स्थिर विनिमय दरका कारण अन्य मुद्रालाई बजारले निर्धारण गरे पनि यसमा नेपाल बाँधिएको छ । डलरको तुलनामा भारुको मूल्य घटिरहँदा नेपाली मुद्रासमेत यसको शिकार बनेको छ । लामो समयदेखिको नेपाल–भारतको स्थिर विनिमय दरलाई हटाउन पहल गर्नसमेत नेपाल सक्षम नभएको अर्थशास्त्रीहरू बताउँछन् ।
असोज ३ गते मङ्गलवार १ अमेरिकी डलर खरीद गर्दा १ सय १६ दशमलव ४७ रुपैयाँ खर्च गर्नु परेको छ । एकातिर विश्वबजारमा डलरको भाउ अकाशिनु र नेरूसँग आबद्ध भारतीय मुद्रा डलरको तुलनामा सर्वाधिक कमजोर हुनु नै नेपाली मुद्रा सर्वाधिक सस्तो हुनुको कारण हो ।
डलर अहिलेसम्मकै महँगो
अमेरिकी डलरको क्रयशक्ति बढ्दै गर्दा बुधवार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । एक डलरको नेपाली खरीद मूल्य १ सय १६ दशमलव ४७ र विक्री मूल्य १ सय १७ दशमलव शून्य ७ भएकाले अहिलेसम्मकै उच्च भएको हो । यो अघिल्लो दिनको तुलनामा ७५ पैसा बढी हो । यसअघि विक्री मूल्य करीब १ सय १६ सम्म पुगेको थियो । यसरी डलर सर्वाधिक बलियो हुदै गर्दा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको छ ।
गहन विश्लेषण गरिरहेका छौंडा. युवराज खतिवडा, अर्थमन्त्री
डलरको मूल्य अकाशिरहँदा नेपाली मूल्यको अवमूल्यन भएकै हो । यसको प्रभाव परेको छ । यसबारे हामीले सकारात्मक र नकारात्मक दुवै पक्षमा गहन विश्लेषण गरिरहेका छौं । लामो समयसम्म नेपाली मुद्राको मूल्य कम भइरहँदा वस्तु र सेवाका निर्यातकर्ताले प्रोत्साहन पाउने त हुन्छ तर हाम्रो त्यो क्षमता नहुञ्जेल त्यसको लाभ लिने स्थिति हुँदैन । यसैले निर्यातका लागि हाम्रा क्षमता बढाउने कुरामा ध्यान दिन सक्यौं भने लाभ लिन सक्ने पक्ष छ । कतिपय वस्तुको आयात महँगो हुने र त्यसकारणले हामीले आयात प्रतिस्थापनसँग सम्बन्धित कतिपय नीति लिएका छौं । त्यसलाई पनि विनिमय दरको नयाँ प्रवृत्तिले सहयोग पुर्याउँछ । खास गरी निर्माणजन्य वस्तुहरू, खाद्य पदार्थहरू हामीले आयात पनि गरेका छौं र मुलुकभित्रै क्षमता पनि छ । त्यस्ता वस्तुहरूले पाउने संरक्षणको स्तर सहज रूपमा माथि जान्छ । यसलाई भन्सारको माध्यमबाट केही प्रतिक्रिया दिनु परेन । यतिबेला विप्रेषण पठाउनेलाई २ रुपैयाँ बढी आयो होला, ऋण तिर्नेलाई बढी तिर्नु पर्यो होला ।
स्थिर विनिमय दर हटाउन सजिलो छैनदीपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर
कतीपय अर्थशास्त्रीहरूले नेपाल र भारतको स्थिर विनिमय दर प्रणाली हटाई दिए सबै ठीक हुन्छ भन्ने गर्छन् । भारुसँग खुला विनिमयदर हुनुपर्छ भन्नेमा म सहमत छैन । भारतबाटै आयात हुने करीब ५०/६० प्रतिशत वस्तु त डलरमा नै भुक्तानी गर्नुपर्छ भने बाँकीलाई मात्र भारु तिर्छौं । भारतसँगको व्यापार निर्भरता करीब ६६ प्रतिशत छ । हामीले एकैपटक आबद्धता हटायौं भने त सय भारु बराबर एक्कासी २ सयभन्दा माथि पुग्न सक्छ । अहिले स्थिर विनिमय दर हुँदा त अनौपचारिक बजारमा ५/१० रुपैयाँ बढी तिर्नु परेको गुनासो छ । यस्तो अवस्थामा स्थिर विनिमय दर हटाउने कुरा त्यति सजिलो हुँदैन ।
हामीसँग नीतिगत छनोट ज्यादै सीमित छन्डा. डिल्लीराज खनाल, अर्थशास्त्री
भारु र नेरुबीचको स्थिर विनिमय दरका कारण अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढ्दा नेपालमा प्रतिकूल असर पर्न थालेको छ । यसले बजार भाउमा प्रत्यक्ष असर गर्ने भएकाले लगानीकर्ताको जोखीम पनि बढाउँछ । हाम्रोजस्तो समानान्तर रूपमा मौलाएको अनौपचारिक अर्थतन्त्रमा डलरको कालो बजारी बढ्न सक्छ । यसले अनौपचारिक अर्थतन्त्रलाई थप बढावा मिल्न जान्छ । तर यसलाई धेरै चलाउन सक्ने नीतिगत विकल्प छैन ।