ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फर्निचर व्यवसायीका समस्या : स्वदेशी काठ पाउन कठिन

Sep 25, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । फर्निचर व्यवसायीहरूले सहज रूपमा स्वदेशी काठ पाउन नसकेको गुनासो गरेका छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनीहरूले सहज रूपमा स्वदेशी काठ पाउन नसक्दा फर्निचर व्यवसायको प्रवर्द्धन गर्न नसकिएको बताए । एक व्यवसायीले भने, ‘तस्करीमार्फत स्वदेशी काठ विदेशिने गरेको छ । वनजङ्गलका काठ पनि नासिँदैछन् । तर, नेपाली फर्निचर व्यवसायीले भने काठ पाउन सकेका छैनन् ।’ नेपालको गुणस्तरीय काठ गुमाएर विदेशी काठ आयात गर्ने बाध्यता रहेको उनको भनाइ छ । नेपालमा वार्षिक ६ अर्ब रुपैयाँबराबरको काठ आयात हुने गरेको फर्निचर तथा फर्निसिङ सङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । फर्निचर व्यवसायीले सोझै सामुदायिक वनको काठ खरीद गर्न पाउँदैनन् । तोकिएका सीमित कम्पनीले मात्र सामुदायिक वनको काठ खरीद गर्न पाउने सरकारी व्यवस्था छ । ती कम्पनीबाट सःमिलहरूले काठ किनेर फर्निचर व्यवसायीलाई विक्री गर्दै आएका छन् । यसरी तेस्रो चरणमा काठ खरीद गर्दा विदेशीभन्दा पनि महँगो हुने व्यवसायीहरू बताउँछन् । तर, बढी पैसा तिरेर पनि स्वदेशी काठ पर्याप्त मात्रामा पाउन नसकेको उनीहरूको भनाइ छ । फर्निचर तथा फर्निसिङ सङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारको झन्झटिलो व्यवस्थाका कारण स्वदेशी काठ पाउन नसकेको बताए । उनले भने, ‘फर्निचर व्यवसायीले सोझै सरकारी काठ खरीद गर्न नपाउँदा यस्तो समस्या भएको हो । व्यवसायीले सरकारी काठ खरीद गर्न पाए यस्तो समस्या हुँदैन ।’ सोअनुसार फर्निचर व्यवसायीले सोझै वनबाट काठ खरीद गर्न पाउने व्यवस्था बनाउनुपर्ने उनको भनाइ छ । यद्यपि, नेपालमा आवश्यक मात्रामा काठको उत्पादन भने हुँदै आएको छ । तर, फर्निचर उद्योगमा झण्डै ३५ प्रतिशत मात्र स्वदेशी काठ प्रयोग हुँदै आएका छन् । विभिन्न माध्यमबाट हुने चुहावट र तस्करीका कारण स्वदेशी काठ पाउन नसकेको व्यवसायीहरू बताउँछन् । स्वदेशी काठ सहज रूपमा पाउन सके ७० प्रतिशत आयात रोक्न सकिने व्यवसायीहरू बताउँछन् । फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घका महासचिव कवीन्द्र जोशीले फर्निचर उद्योग सञ्चालनका लागि औद्योगिक क्षेत्रको अभाव भएको बताए । उनले भने, ‘बजारमाझ फर्निचर उद्योग सञ्चालन गर्दा मानिसको दैनिक कार्यमा अवरोध हुँदै आएको छ । फर्निचर उद्योगबाट हुने ध्वनि प्रदूषणलाई कम गर्न सरकारले औद्योगिक क्षेत्रको व्यवस्था गर्न आवश्यक छ ।’ स्थानीयको असन्तुष्टिका कारण वर्षेनि फर्निचर उद्योग स्थानान्तरण गर्दा समस्या हुने गरेको उनको भनाइ छ । उनले फर्निचर व्यवसायमा नेपाली जनशक्तिको अभाव भएको पनि बताए । उनले भने, ‘फर्निचर क्षेत्रमा कार्यरत डेढ लाख कामदारमध्ये करीब ८० प्रतिशत विदेशी छन् । सरकारले सीटीईभीटीमार्फत यससम्बन्धी विषयमा अध्यापन गर्ने व्यवस्था गर्न आवश्यक छ ।’ त्यस्ता विद्यार्थीलाई शतप्रतिशत रूपमा रोजगार प्रदान गर्न महासङ्घ तयार रहेको उनको भनाइ छ ।
वार्षिक ६ अर्बबराबरको काठ आयात राजेशकुमार अग्रवाल, अध्यक्ष फर्निचर तथा फर्निसिङ सङ्घ स्वदेशी काठ कहाँ जान्छ थाहा छैन । हामी केही वर्षदेखि वर्षेनि ६ अर्ब रुपैयाँबराबरको काठ आयात गर्न बाध्य छौं । सहज रूपमा काठ पाउन सके उत्पादन मूल्य पनि कम हुने थियो र स्वदेशी उत्पादनले पनि बजार पाउँदै जाने थियो । तर, सरकार यसप्रति जिम्मेवार देखिँदैन । सरकारले सहज रूपमा काठ उपलब्ध गराउन सके हामी केही वर्षमा नै काठ आयात रोक्न सक्छौं । पुराना काठलाई पनि पुनः प्रयोग आवश्यक कवीन्द्र जोशी, महासचिव फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घ नेपालका उद्योगमा अन्तरराष्ट्रिय स्तरको फर्निसिङ उत्पादन गर्ने क्षमता छ । तर, कच्चा पदार्थको अभाव र प्राविधिक समस्याले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । उत्पादन लागत बढी लाग्ने हुनाले महँगो पनि छ । सरकारले सहज रूपमा काठ उपलब्ध गराउन सके केही वर्षमा नै विदेशी सामग्रीसँग प्रतिस्पर्धा गर्न सक्छौं । सरकारले फर्निचर व्यवसायको विकास र प्रवर्द्धन गर्न केही नीतिगत व्यवस्था गर्न आवश्यक छ । तस्करीका क्रममा समातिएका काठ कुहिएर गएका छन् । त्यस्ता काठ आम व्यवसायीले किन्न पाउने व्यवस्था ल्याउनुपर्छ । साथै, पुराना काठहरूलाई पनि पुनः प्रयोग गर्न पाउने गरी व्यवस्था बनाउन आवश्यक छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)