ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ वर्षपछि पर्यटक सवारी साधनको भाडादर समायोजन

Sep 26, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले पर्यटक सवारीसाधनहरूको ‘गाडी भाडादर’ निर्धारण गरेको छ । २०७० मा पर्यटक यातायातको भाडादर समायोजन गरेको सङ्घले ५ वर्षपछि पुनः भाडादर निर्धारण गरेको हो । तर, अहिले सवारीसाधनमा बढाइएको १० प्रतिशत मूल्यका आधारमा सङ्घले भाडादर समायोजन नगरेको दाबी गरेको छ । सङ्घका अध्यक्ष रामशरण कार्कीले अक्टुबर १ अर्थात् असोज १५ गतेदेखि लागू हुने गरी दूरी/स्थानका आधारमा पर्यटक बस, कार, भ्यान, कोष्टरको हायस गाडीहरूको भाडादर निर्धारण गरिएको जानकारी दिए । उनले अहिले १० प्रतिशत सवारीसाधनको मूल्य बढाउने भनिएअनुसार सङ्घले भाडा नबढाएको दाबी गरे । उनले आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रू. ५ ले वृद्धि भएमा आपसी समझदारीमा दररेट पुनः समायोजन हुने बताए । मुलुकभर नै लागू हुने गरी सङ्घले गाडी भाडादर लागू गर्ने भएको हो । सङ्घले पर्यटक बसको भाडादर रू. २ हजार ७ सय ५० देखि रू. १ लाख ४४ हजार १ सय ८३ तोकेको छ । यसमा दुईतर्फी भाडा जोडिएको छ । सङ्घका अनुसार काठमाडौंबाट फिदिम गएर आउन १ पर्यटक बसले रू. १ लाख ४४ हजार १ सय ८३ रकम तिर्नुपर्छ । सङ्घले त्रिशूली–धुञ्चे रूट, काठमाडौंदेखि नमोबुद्ध, कोदारी–जिरी रूटमा पर्यटन बसका लागि न्यूनतम रू. १३ हजार ८ सयदेखि रू. ४३ हजार ३ सय १३ निर्धारण गरेको छ । काठमाडौंदेखि खुर्काेट इलाम गएर आउन भाडामा लिने पर्यटक बसले रू. १ लाख २ हजार २५ रकम तिर्नुपर्छ । यस्तै, काठमाडौंदेखि गोरखा, डुम्रे, पोखरा, बेनी रूटका लागि भाडामा लिने बसका लागि रू. २३ हजार ४ सय ४८ देखि मुक्तिनाथ (३ रात ४ दिन) जानका लागि रू. १ लाख १३ हजार ७ सय ४७ तिर्नुपर्छ । काठमाडौंदेखि गाईघाट, चितवन, नारायणघाट रूट, राउण्ड ट्रिप रूट, काठमाडौंदेखि हेटौंडा, वीरगञ्ज, जनकपुर, विराटनगर, काँकडभिट्टा, धरान रूट, काठमाडौं–बुटवल, लुम्बिनी, नेपालगञ्ज, बर्दिया, धनगढी, महेन्द्रनगर रूट वर्गीकरण गरेर सङ्घले दूरी र स्थानका आधारमा गाडीको भाडादर समायोजन गरेको छ । सङ्घले यो भाडादर समायोजन गर्दा किलोमिटर र दररेट दुईतर्फी तय गरेको छ । सङ्घले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समावेश गरी अहिले समायोजन गरेका भाडादर कायम गरेको हो भने यो दररेटमा एसी चार्जसमेत समावेश गरिएको छ । सङ्घका अनुसार बुकिङ भइसकेको ट्रिप रद्द भएमा २५ प्रतिशत ‘क्यान्सिल चार्ज’ लाग्नेछ । यस्तै, स्करपियो, टाटा जिपलाई भ्यानको दररेट र मित्सुविसी, टोयोटा, निसान र जिपलाई हायसको दररेट कायम हुने सङ्घले बताएको छ । दररेट निर्धारण गर्दा कच्ची, ग्राभेल र हिमाली क्षेत्रमा थप २५ प्रतिशत जोडिएको छ । सङ्घले पर्यटकीय सिजन शुरू हुँदै गर्दा पर्यटक सवारीसाधनको भाडा बढाएको हो । सङ्घका अनुसार अहिले मुलुकभर कार, भ्यान, हायस, कोष्टर र बसगरी करीब ४४ सयभन्दा बढी पर्यटक सवारीसाधन छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)