विकास निर्माणका काम गर्दा रुकुममा डोजर चलाउन प्रतिबन्ध
Sep 27, 2018
 
समाचार
असोज ११, रुकुम । प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले रुकुममा डोजर चलाउन प्रतिबन्ध लगाउने बताएका छन् । बिहीवार रुकुम पश्चिममा रहेको कृषि ज्ञान केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै सांसद शर्माले डोजर, स्काभेटर प्रयोग गरी सडक निर्माण गर्दा वातावरणमा नराम्रो प्रभाव पर्ने भएकाले मानवीय श्रमबाट विकास निर्माणका काम गर्न स्थानीय तहलाई निर्देशन दिएका हुन् ।
विकल्प नभएमा मात्र स्थानीय तहको सिफारिसमा डोजर प्रयोग गर्नुपर्ने उनको भनाई छ । मेशिनको प्रयोगबाट मानवीय श्रमशक्तिले काम नपाएको र मेशिनको प्रयोगबाट वातावरणमासमेत ठूलो क्षति पुगेकाले यहाँको विकास निर्माणमा मेशिन प्रयोग नगर्न सांसद शर्माले निर्देशन दिएका हुन् । शर्माले भने, ‘डोजरको प्रयोग रोक्न सकेमा बैदेशिक रोजगारीमा जानेहरुलाई स्वदेशमै रोजगारी दिई रोक्न सकिन्छ ।’ֹ
उपभोक्ता समिति मार्फत विकास निर्माण गर्दा काममा गुणस्तर नभएको भन्दै सांसद शर्माले अब श्रम सहकारीमार्फत विकास निर्माणका काम गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषिमा परिणाममुखी काम गर्नु पर्ने धारणा राखिन् । उनले भनिन, ‘पछिल्लो समय कृषि र सहकारी मार्फत रकम दुरुपयोग गर्ने प्रचलन बढेको भन्दै त्यस्तो गरेको पाईएमा अनुदान रकमको दोब्बर असुल गरिनेछ ।’ कर्णाली प्रदेश सरकारले रुकुमको कृषि क्षेत्रको विकासको लागि झण्डै ३० करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिईन् ।