प्रदेश राजधानी गोदावरीमा तोकिएपछि भौतिक संरचनाको निर्माण तीव्र
Oct 10, 2018
 
समाचार
असोज २४, धनगढी । सुदूरपश्चिम प्रदेशभित्रका नौओटै जिल्लाको मुख्य प्रवेशद्धार कैलालीको अत्तरिया (गोदावरी नगरपालिका)भित्र भौतिक संरचना निर्माण हुने क्रम बढ्दै गएको छ । प्रदेशको राजधानी हुने चर्चासँगै निजी व्यावसायिक फर्म तथा आवासीय संरचना बन्नेक्रम बढिरहेका बेला प्रदेश सरकारले राजधानी सोहि स्थानमा रहने गरी निर्णय गरेपछि संरचना निर्माणले थप तीव्रता पाएको हो ।
गोदावरी नगरपालिका बडा नम्बर २ र ४ मा पर्नेगरी राजधानी तोकिएपछि व्यावसायिक फर्म तथा निजी आवासीय भवन निर्माण गर्न नक्सापासका लागि नगरपालिकामा आउनेहरुको सङ्ख्या बढ्दै गएको नगरपालिकाले बताएको छ । प्रदेश सरकार गठनसँगै गोदावरीमा राजधानीको चर्चा चलेको थियो । प्रदेश संसदको बहुमतले प्रदेशको नाम सुदुरुपश्चिम र राजधानी गोदावरी पारित गरेको छ । योसँगै व्यावसायिक प्रयोजनका भौतिक संरचना निर्माणका लागि नक्सापास गर्नेहरुको सङ्ख्या बढेको नगरपालिकाका घर नक्सापास शाखाका अमिन रघुनाथ जोशीले बताए ।
१२ वडा रहेको गोदावरी नगरपालिकाभित्र सबैभन्दा बढी भौतिक संरचना वडा नम्वर एक र दुईमा बढेको पाईएको छ । यहाँ पिल्लरसहितका भूकम्पप्रतिरोधक भौतिक संरचना विस्तार बढ्दो छ ।
चालु आर्थिक वर्षमा भौतिक संरचना निर्माणका लागि नक्सापास गर्न आउनेको सङ्ख्या दैनिक बढ्दै गएको नगरपालिकाले बताएको छ । विभिन्न कारण आउनेजतिको दर्ता गर्न नसकिएपनि चालु आवको दुई महीनामा ६ ओटा भौतिक संरचनाको दर्ता गरिएको बताईएको छ ।
उक्त संरचनाहरुको नक्सापास वापत नगरपालिकाले दुई लाख २९ हजार दुई सय १० रुपैयाँ राजस्व संकलन भएको तथ्याङ्क छ ।