ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैङ्किङ कसूर : २० आरोपी म्याद ‘बेपत्ते’

Oct 15, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । बैङ्किङ कसूरका २० आरोपीको घरठेगाना पत्ता लगाउन सर्वोच्च अदालतलाई कठिन भइरहेको छ । उनीहरूको नाममा म्याद सूचना जारी गरिसकिएको छ । तर, आरोपपत्रमा देखाइएको घरठेगाना खोज्दै गएको भए पनि उनीहरूलाई पत्ता लगाउन नसकिएको सर्वोच्च अदालत स्रोतले आर्थिक अभियानलाई जानकारी दियो । उच्च अदालतले गरेको फैसलामा चित्त नबुझेका कारण नेपाल सरकारले ती आरोपीहरूलाई हदैसम्मको कारबाही गर्न माग गर्दै विभिन्न मितिमा सर्वोच्चमा पुनरावेदन गरेको थियो । सो पुनरावेदनमाथि गरिएको प्रारम्भिक सुनुवाइपछि आरोपीहरूलाई उपस्थित गराउन इजलाशले आदेश दिएको थियो । सो आदेश बमोजिम सर्वोच्च अदालतको प्रशासनले २० आरोपीहरूको नाममा म्याद सूचना जारी गरिएको थियो । ती आरोपीहरूको नामको घर ठेगानामा म्याद सूचना लैजाँदा उनीहरूलाई फेला पार्न नसकिएको बताइएको छ । उनीहरूको नाममा जारी भएको म्याद ‘बेपत्ते’ भएको छ । म्याद बेपत्ते भएका आरोपीहरूमा पशुपतिनाथ शुक्ला, मीना शुक्ला, निशा शुक्ला, रामचन्द्र शुक्ला, सुरजबहादुर दाहाल, मदन गुरुङ, ज्ञानेन्द्रबहादुर थापा मगर, इन्द्रबहादुर लामा, राजेश घिमिरे, भीमकान्त शर्मा छन् । यसैगरी प्रेमलाल उपाध्याय, फूलचन्द्र यादव, सन्तोष बानियाँ, लोकमणि अर्याल, ढालबहादुर खत्री, नेत्रप्रसाद पोखरेल, दामोदर खनाल,राजेन्द्र श्रेष्ठ, शशिधर खनाल र देवेन्द्र खड्का पनि त्यस सूचीमा छन् । यी २० जनाकै म्याद सूचना ‘बेपत्ते’ भएको हो । यी आरोपीमाथि विभिन्न बैङ्कमा राखेको धितो कमसल भएको, बैङ्कलाई हानिनोक्सानी पुर्‍याएको भन्नेजस्ता आरोप छन् । यी आरोपीमध्ये केही बैङ्कका कर्मचारी हुन् भने केही ऋणी हुन् । ‘उनीहरूको घरठेगाना पत्ता लगाउन धेरै कोशिश भएको हो, तर सफल भएन,’ सर्वोच्च अदालत स्रोतले बतायो । आरोपीहरूको म्याद ‘बेपत्ते’ भएपछि उनीहरूको नाममा सार्वजनिक सूचना जारी गरी सर्वोच्च अदालतमा बोलाइएको छ । सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४८ को (च) मा कसैको म्याद ‘बेपत्ते’ भएमा राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्नपु र्ने व्यवस्था गरिएको छ । सोबमोजिम उनीहरूलाई सर्वोच्च अदालत बोलाइएको हो । सूचनामा १५ दिनभित्र सर्वोच्च अदालतमा उपस्थित हुन भनिएको छ । राष्ट्रिय स्तरको पत्रिकामा उपस्थित हुन सूचना जारी गरेपछि सम्बन्धित आरोपीले म्याद बुझेको ठानिन्छ ।  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)