ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रीपेच र राजदण्ड अवलोकनका लागि खुला, नारायणहिटीलाई अनुसन्धान सङ्ग्रहालयका रुपमा विकास गरिने

Oct 15, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असोज २९ काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच, राजदण्डलगायतका सामग्रीहरु सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले दरबारमा रहेका श्रीपेच र राजदण्ड सार्वजनिक गरेका हुन् । दरबारलाई सङ्ग्रहालयका रुपमा घोषणा गरी अवलोकनको लागि खुला गरिए पनि श्रीपेच, राजदण्डलगायतका सामग्री भने प्रदर्शनीमा राखिएको थिएन । श्रीपेचलाई लामो समयदेखि सङ्ग्राहलयमा सेनाको सुरक्षामा राखिएको थियो । अहिले श्रीपेच राख्ने प्रदर्शनी कक्ष र बुलेट प्रुफ सोकेस तयार गरी श्रीपेच र राजदण्ड लागायतका सामग्री प्रदर्शनीमा राखिएको हो ।

श्रीपेचमा ७ सय ३० ओटा हीराका टुक्रा, २ हजार ३ सय ७२ ओटा मोति, ४७ ओटा पन्ना तथा १६ ओटा अन्य मणि माण्क्यिहरु जडान गरिएको पुरातत्व विभागले जानकारी दिएको छ । श्रीपेचको पछिल्तिर झुण्डिएको आकर्षक कल्की ‘बर्ड अफ प्याराडाइज’ नामक चराको पुच्छर हो । यो चरा अष्ट्रेलियामा मात्र पाइन्छ ।

२०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भएपछि तत्कालिन राजा ज्ञानेन्द्र वीर विक्रम शाहले दरबार छोडेपछि राजदरबारलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ असार १ गते सङ्ग्रहालयको रुपमा उद्घाटन गरेका थिए भने २०६५ साल फागुन १५ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणको लागि खुला गरेको थियो ।श्रीपेच प्रदर्शनीको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको ठूलो त्याग र बलिदानीबाट नेपालमा गणतन्त्र आएको उल्लेख गर्दै श्रीपेच र राजदण्ड सम्पूर्ण आन्दोलनको र उपलब्धिका रुपमा प्रदर्शनीमा राखिएको बताए । उनले भने, ‘शक्ति श्रीपेच र राजदण्डमा नभई जनतामा निहीत हुन्छ । श्रीपेच र राजदण्डको नाममा नेपाली जनतामाथि थोपरिएको शीक्तको भ्रम अब उत्रिएको छ ।’ उनले नेपालको एकिकरणमा पृथ्वीनारायण शाह तथा नेपालको राष्ट्रियता जगेर्ना गर्न केही राजा र जङ्गबहादुर राणा समेतले गरेको योगदानको स्मरण गर्न सकिए पनि इतिहासमा जन्मसिद्ध अधिकारका रुपमा शासक भएर आउने पद्धति र प्रवृत्ति ठिक नभएको धारणा राखे ।

नारायणहिटीलाई अनुसन्धान सङ्ग्रहालयको रुपमा विकास गर्न निर्देशन प्रधानमन्त्री ओलीले नारायणहिटी सङ्ग्रहालयमा गोपालवंशदेखि शाहवंशसम्मका इतिहासलाई संरक्षण गर्न र दरबार अनुसन्धान सङ्ग्रहालयका रुपमा विकास गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिए । उनले टुक्रे कामका नाममा पैसा खर्च नगरी गुरुयोजना बनाएर आवश्यक रकमको व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लामो प्रयासपछि श्रीपेच प्रदर्शनीमा राखिएको दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने बताए । उनले दरबार सङ्ग्रहालयको विकासको लागि योजनाबद्ध ढङ्गले काम भएको समेत जानकारी दिए ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले दरबारमा रहेका विभिन्न ५२ ओटा कक्षमध्ये १९ ओटा कक्षमा दरबारसँग सम्बन्धित विभिन्न वस्तु प्रदर्शनीमा राखिएको र बाँकी कक्षाहरुमा पनि क्रमशः विभिन्न सामग्री प्रदर्शनीका लागि राखिने जानकारी दिए । नारायणहिटी राजदरबार २०२० सालबाट निर्माण शुरु भई २०३६ सालमा निर्माण सम्पन्न भएको दाहालले जानकारी दिए । उनले दरबार सङ्ग्रहालय राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटनका साथै अनुसन्धानका लागि महत्वपूर्ण हुने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)