रुकुम । रुकुममा ८ करोड लगानीमा २ सय किलोवाटको विद्युत् आयोजना निर्माण भइरहेको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ मा सिम्रुतुखोला जलविद्युत् आयोजना रू. ८ करोड ७१ लाख ३६ हजार ८ सय ८८ रुपैयाँमा निर्माण भइरहेको हो ।
एसियाली विकास बैङ्क (एडीबी), नेपाल सरकार (वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र) र स्थानीय उपभोक्ताको साझेदारीमा निर्माणाधीन उक्त आयोजनाको ८५ प्रतिशत बढी काम सम्पन्न भइसकेको निर्माण समितिका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिए । रुकुम उज्यालो कार्यक्रमअन्तर्गत निर्माणाधीन लघु जलविद्युत्मध्ये यो सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना हो । जिल्लामा यसअघि निर्माण सम्पन्न कुनै पनि साना तथा लघु जलविद्युत् आयोजना ९० किलोवाटभन्दा बढी उत्पादन क्षमताका छैनन् । आयोजनामा नेपाल सरकारमार्फत एडीबीको ६५ प्रतिशत र स्थानीय उपभोक्ताको २४ प्रतिशत लगानी रहेको छ ।
सिम्रुतुखोला साना जलविद्युत् सहकारी लिमिटेडको सिभिल बैङ्कबाट लिएको ऋण ११ प्रतिशत लगानी रहने अध्यक्ष ओलीले बताए । सिम्रुतुखोला साना जलविद्युत् आयोजना निर्माणका लागि एडीबीको आर्थिक सहयोगमा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)आयोजनाले अनुदान सहयोग गरेको छ ।
यस लघु जलविद्युत्को निर्माणको जिम्मा गौरा कन्ष्ट्रक्शन प्रालि र हाइड्रो इनर्जी प्रालिले लिएका छन् । आयोजनाबाट त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाका १ हजार २ सय ९६ घरधुरी लाभान्वित हुनेछन् । निर्माण समिति अध्यक्ष ओलीका अनुसार २०७६ को शुरूमै घरघरमा बत्ती पुर्याउने गरी काम भइरहेको छ । ‘विद्युत्गृहमा आवश्यक सम्पूर्ण मेशिन तथा उपकरण ल्याएर जडानका लागि तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘क्यान निर्माणको काम पनि सकिएको छ ।’ त्रिवेणी गाउँपालिका–१ र २ नम्बर वडाका ९ सय घरधुरीले प्रतिघरधुरी ३१ हजार ६ सय ५ रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै, त्रिवेणी गाउँपालिका–५, ६ र ७ वडाका २ सय घरधुरी र मुसीकोट नगरपालिका–१२ का केही घरधुरीले ३०/३० हजार नगद लगानी गरेका छन् ।
त्यस्तै, मुसीकोट नगरपालिका–११ वडावासीले २५ हजार रुपैयाँ प्रतिघरधुरी लगानी गरेका छन् । उक्त आयोजनामा साविकको रुघा गाविस र जिल्ला विकास समितिबाट पनि १० लाख रुपैयाँ लगानी भएको अध्यक्ष ओलीले जानकारी दिए ।