ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

थप लगानीका लागि पूँजी अभाव : निक्षेपभन्दा कर्जा प्रवाहमा बैङ्क आक्रामक

Oct 28, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो त्रैमासदेखि नै बजारमा लगानीयोग्य पूँजीको अभाव शुरू भएको बैङ्करहरूले गुनासो गर्न थालेका छन् । विगत वर्षहरूमा झैं पूँजी अभाव बल्झिएपछि बैङ्कहरू दशैंमा बाहिरिएको रकम प्रणालीमा भित्रिने प्रतीक्षामा छन् । सामान्यतया दशैंमा प्रणालीबाट बाहिरिएको रकम तिहारपछि मात्रै भित्रिने हुनाले त्यसपछि केही राहत हुने मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको भनाइ छ । मेगाको पूँजी–कर्जा–निक्षेप (सीसीडी) अनुपात भने राष्ट्र बैङ्कले तोकेको सीमाभित्रै रहेको उनले बताइन् । उनले भनिन्, ‘बजारमा लगानीयोग्य पूँजीको माग बढे पनि निक्षेप वृद्धिदर स्थिर भएकाले हामीले नयाँ कर्जा दिएका छैनौं ।’ निक्षेपका स्रोतहरू जुटाउन सबै बैङ्क लागिपरेको उनको भनाइ छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत हप्तासम्म पाँचओटा वाणिज्य बैङ्कको सीसीडी अनुपात ८० प्रतिशत नाघेको छ । राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले बैङ्किङ प्रणालीमा आवश्यक तरलता भएको दाबी गरे पनि सीसीडीमा चाप परेको उनले भने स्वीकार गरे । अहिले बैङ्किङ क्षेत्रको औसत सीसीडी अनुपात ७७ दशमलव ३६ प्रतिशत रहेको छ । ‘बैङ्किङ प्रणालीमा हाल रू. ५० अर्ब अतिरिक्त तरलता छ । प्रणालीमा समस्या नभए पनि सीसीडीको सीमा नाघेका बैङ्कलाई सचेत गर्ने गरिरहेका छौं । कारबाही भने मासिक रूपमा औसतमा हेरेर गर्ने छौं’, उनले भने । बैङ्कहरू भने निक्षेप सङ्कलनभन्दा कर्जा विस्तारमा आक्रामक देखिएका छन् । नेपाल बैङ्कर्स सङ्घको तथ्याङ्कअनुसार असोज मसान्तसम्म वाणिज्य बैङ्कबाट २२ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सोअन्तर्गत स्थानीय मुद्रामा २१ खर्ब ८३ अर्ब रुपैयाँ प्रवाह भएको छ भने विदेशी मुद्रामा ६२ अर्ब रुपैयाँ गएको छ । सो अवधिमा निक्षेप २५ खर्ब २३ अर्ब रुपैयाँ सङ्कलन भएको थियो । यसैगरी, भदौ मसान्तसम्म त्यस्तो कर्जा प्रवाह २१ खर्ब ७४ अर्ब रुपैयाँ थियो भने सो अवधिमा निक्षेप २५ खर्ब २ अर्ब रुपैयाँ सङ्कलन भएको थियो । यस १ महीनाको अन्तरालमा कर्जा प्रवाह ७२ अर्ब रुपैयाँले बढेको छ भने निक्षेप सङ्कलन २१ अर्ब रुपैयाँ मात्र बढेको तथ्याङ्कले देखाएको छ । यसले बैङ्कहरू निक्षेप सङ्कलनमा भन्दा कर्जा प्रवाहमा आक्रामक भएको देखिन्छ । तर, यस्तो कर्जा विशेष गरेर दीर्घकालीन लगानीका क्षेत्रमा प्रवाह भएको बैङ्करहरूको भनाइ छ । बैङ्किङ प्रणालीको निक्षेप सङ्कलन अपेक्षा गरेजस्तो हुन नसकेको उनीहरू बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)