ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रपतिको कतार भ्रमण : कृषिमा सहकार्यका लागि एमओयू हुँदै

Oct 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । कृषियोग्य जमीन कम भए तापनि कतारले दिनप्रतिदिन कृषिमा प्रगति गर्दै गएको छ । कतारलाई कृषि उत्पादन बढाउन पानीको अभाव, बलौटे तथा नुनिलो माटोयुक्त जमीनलगायत चुनौतीका रूपमा छन् । यद्यपि, लक्षित योजना र प्रविधिको प्रयोगले यस क्षेत्रमा उसले फड्को मारेको छ । कतारका यिनै अनुभवबाट नेपालले लाभ उठाउने औपचारिक प्रक्रियाको रूपमा नेपाल–कतार कृषि सहकार्य समझदारी (एमओयू)मा हस्ताक्षर हुने भएको छ । सोमवारदेखि शुरू भएको राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा उक्त एमओयूमा हस्ताक्षर हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए । ‘दुवै देशको कृषिक्षेत्रको विकास तथा साझेदारीका लागि समझदारी हुन लागेको हो,’ उनले भने, ‘नेपालका उत्पादन कतार निर्यातका साथै उताबाट प्रविधि भित्र्याउन यसको महत्त्वपूर्ण भूमिका हुने अपेक्षा छ ।’ चालू आर्थिक वर्षका बितेका महीनामा नेपालबाट कृषि उत्पादनतर्फ लसुन र प्याज कतार निर्यात आएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । एमओयूपछि यीलगायत अन्य उत्पादनको निर्यात सहज हुने कृषि मन्त्रालयले बताएको छ । ‘एमओयूले कतारका व्यवसायीलाई नेपालको कृषि व्यवसायमा लगानीको ढोका पनि खोल्नेछ,’ प्रवक्ता सुवेदीले भने । राष्ट्रपति भण्डारीले मङ्गलवार कतारको राजधानी दोहामा त्यहाँका व्यवसायीसँगको भेटमा ‘नेपालमा व्यवसाय र लगानीका अवसर’ विषयमा बोल्ने सम्भावना छ । कसरी गर्दै छ कतारले कृषिमा प्रगति ? विश्व बैङ्कको सन् २०१४ को प्रतिवेदनअनुसार कतारको कुल भू–भागको ५ दशमलव ६५ प्रतिशत (१३ हजार हेक्टर) जमीन मात्र खेतीयोग्य छ । उक्त जमीनमा पनि सिँचाइका लागि पानीको अभावका कारण अपेक्षित उत्पादन गर्न सक्ने अवस्था छैन । यद्यपि, अबको करीब ५ वर्षमा १८ हजार २ सय ११ हेक्टर जमीनमा १ हजार ४ सय फार्म विस्तार गर्ने कतारको योजना छ । तीमध्ये अधिकांश फार्ममा हाइड्रोपोनिक प्रविधिमार्फत तरकारी र फलफूल उत्पादन गरिनेछ । पानी र माटोको कम उपयोगमै उत्पादन हुने कारणले कतार सरकारले फलपूmल र तरकारीखेतीमा बढी जोड दिएको छ । कतारमा अन्न उत्पादन घट्दो क्रममा छ । तर, अन्नको खपत भने प्रतिवर्ष उच्च मात्रामा बढ्दो छ, जसको परिपूर्तिका लागि कतारले भारत, अमेरिका, ब्राजिल र अष्ट्रेलियालगायत देशबाट गहुँ, मकै, दाल, जुनेलोजस्ता खाद्यान्न आयात गर्दै आएको छ । सकेसम्म यस्ता खाद्यान्नको आयात घटाउनेतर्फ कतारको ध्यान केन्द्रित हुँदै गएको छ । प्रविधिमा सुदृढीकरण, कम पानी खपत हुने टनेल खेती, सरकारको कृषि अनुदान, अलवणीकरण गरिएको पिउने पानी कृषिमा प्रयोग जस्ता पक्ष कतारको कृषिक्षेत्रको विकासका आधार मानिएका छन् । कतारको कृषिका बाधक कृषियोग्य जमीनको कम उपलब्धता, कम वर्षा, मरुभूमि, आँधीलगायत हुन् । यस कारण बढ्दो माग प्रतिस्थापन गर्नेगरी उत्पादन गर्नु कतारका लागि निकै चुनौतीपूर्ण छ । यही अवस्थामा माटो, पानी र मौसमका हिसाबले पनि विविध कृषिउपजका लागि अनुकूल भएको नेपालले कृषिमा कतारी लगानी तथा प्रविधि भित्र्याएर आन्तरिक खपत र निर्यातमा महत्त्वपूर्ण फड्को मार्न सक्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)