ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार : कामदार घट्दै, विप्रेषण बढ्दै

Oct 31, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । विगत केही वर्षदेखि वैदेशिक रोजगारमा जाने नेपाली कामदारको सङ्ख्यामा कमी देखिए पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने बढेको छ । नेपाल राष्ट्र बैङ्कको भदौसम्मको एक तथ्याङ्कले यस्तो देखाएको हो । उक्त तथ्याङ्कअनुसार विगत केही वर्षदेखि वैदेशिक रोजगारमा जाने नेपाली कामदारको सङ्ख्या घट्दै गएको छ । तर, वैदेशिक रोजगारबाट आउने रेमिट्यान्समा भने वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७५/७६ को शुरूको २ महीनामा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको सङ्ख्या ४१ प्रतिशतले घटेको छ । गतआवको सोही अवधिमा भन्दा विदेशिने नेपाली कामदारको सङ्ख्यामा हाल कमी देखिएको हो । आव २०७४/७५ को सोही अवधिमा वैदेशिक रोजगार विभागबाट ६५ हजार १ सय ८७ जनाले श्रम स्वीकृति लिएका थिए । तर, चालू आवको समीक्षा अवधिमा भने वैदेशिक रोजगारीका लागि ३८ हजार ४ सय ५० जनाले श्रम स्वीकृति लिएका छन्, जुन गतआवको समीक्षा अवधिको तुलनामा ४१ प्रतिशतले कम हो । गत आवको समीक्षा अवधिमा पनि विदेशिने नेपाली कामदारको सङ्ख्यामा ७ दशमलव २ प्रतिशतले कमी आएको थियो । तथ्याङ्कले अन्तिम श्रम स्वीकृतिका आधारमा विदेशिने नेपाली कामदारको सङ्ख्या घटेको बताएको छ । यद्यपि, यही आधारमा विदेशिने नेपाली कामदार घट्यो भनेर विश्लेषण गर्न नहुने जानकारहरू बताउँछन् । वैदेशिक रोजगारका लागि प्रत्येक दिन सयौं नेपाली कामदार बाहिरिने गरेका छन् । तीमध्ये न्यून सङ्ख्यामा मात्र नेपाली कामदार स्वदेश आउने गर्छन् । यसले गर्दा नेपालमा विदेश जान योग्य (उमेर, शीप, क्षमतालगायत न्यूनतम मापदण्ड पुगेका) जनशक्तिको कमी छ । त्यो अवस्थामा विदेश जाने नेपाली कामदारको सङ्ख्या घटेको विश्लेषण गर्नु उपयुक्त नभएको उनीहरूको तर्क छ । विप्रेषण आप्रवाहमा वृद्धि समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको समीक्षा अवधिको तुलनामा विप्रेषण आप्रवाह बढेको हो । समीक्षा अवधिमा विप्रेषणमार्फत रू. १ खर्ब ५४ अर्ब २० करोड रकम नेपाल भित्रिएको छ । गतआवको समीक्षा अवधिमा पनि शून्य दशमलव ७ प्रतिशतले विप्रेषण आप्रवाह बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । गत आवको समीक्षा अवधिमा यस्तो आप्रवाह ५ दशमलव २ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय हुण्डीजस्ता अवैध कारोबारमा कमी आएपछि विप्रेषण आप्रवाहमा वृद्धि देखिएको विज्ञहरूको तर्क छ । नेपाली कामदार : कतारमा बढी, इजरायलमा कम तथाङ्कअनुसार वैदेशिक रोजगारमा जाने नेपाली कामदारमध्ये सबैभन्दा बढी कतार गएका छन् । यस समीक्षा अवधिमा १४ हजार २ सय ७८ जना नेपाली कामदार कतार गएको तथ्याङ्कमा उल्लेख छ । जुन, यस समीक्षा अवधिमा वैदेशिक रोजगारमा जाने कुल कामदारको ३७ प्रतिशत हिस्सा हो । सो अवधिमा इजरायलमा सबैभन्दा कम नेपाली कामदार गएका छन् । प्रतिवेदनअनुसार यस अवधिमा उक्त देशमा ९ जना मात्र नेपाली कामदार गएका छन् । मलेशियामा जाने कामदारको सङ्ख्या घट्यो समीक्षा अवधिमा मलेशिया जाने नेपाली कामदारको सङ्ख्या ९० दशमलव १४ प्रतिशतले घटेको छ । गतआवको समीक्षा अवधिमा २३ हजार ३ सय ६२ जना नेपाली कामदार मलेशिया पुगेका थिए । तर, चालू आवको समीक्षा अवधिमा भने २ हजार ३ सय २ जना मात्र नेपाली कामदार त्यहाँ पुगेका छन् । उक्त समयमा नेपाल र मलेशियाबीच श्रम सम्झौता हुन नसक्दा त्यहाँ जाने नेपाली कामदारको सङ्ख्या घटेको जानकारहरूको भनाइ छ । यद्यपि, गत आवसम्मको तथ्याङ्कअनुसार भने वैदेशिक रोजगारमा जाने नेपाली कामदारमध्ये सबैभन्दा बढी मलेशियामा नै गएका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)