ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल र थाइल्याण्डबीच हवाई सम्झौता नवीकरण : नेपालका कुनै पनि विमानले थाइल्याण्ड उडान गर्न पाउने

Nov 4, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल र थाइल्याण्डबीच हवाई सम्झौता नवीकरण भएको छ । यो सम्झौतासँगै अब नेपाली वायुसेवा कम्पनीले थाइल्याण्डमा उडान गर्न पाउनेछन् । नेपाल र थाइल्याण्डबीच ४७ वर्षपछि शुक्रवार हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । थाइल्याण्डको बैङ्ककमा द्विपक्षीय वार्तापछि भएको हवाई सेवा सम्झौतामा नेपालको तर्फबाट पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाइल्याण्डका नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकामानोपले हस्ताक्षर गरेका छन् । पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्राण्ट अफ राइट्स, कोअपरेटिभ मार्केटिङ एरेन्जमेण्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तरराष्ट्रि«य उड्डयन सङ्गठन (आईकाओ) ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ । सम्झौताअनुसार एक सातामा दुवै पक्षले २८ उडान गर्नसक्ने र जुनसुकै वायुयान प्रयोग गर्न पाउने भएका छन् । यो सम्झौताअनुरूप नै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहेक निर्माणाधीन अन्य विमानस्थलमा समेत थाई उडानलाई प्रेरित गरिने सहसचिव सुरेश आचार्यले बताए । उनले भने, ‘२०७६ भित्रै भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको समेत निर्माणकार्य सम्पन्न हुने र सो विमानस्थलमा समेत अन्तरराष्ट्रिय उडान गर्न सकिने गरी सम्झौता गरिएको छ ।’ अहिले नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले थाइल्याण्डको बैङ्ककमा हप्ताको ३ ओटा उडान उडान गर्दै आएको छ । यस्तै, थाइल्याण्डका तर्फबाट त्यहाँको सरकारी एयर लायन्स थाई एयर र निजी एयरलाइन्स थाई लाइनले ७–७ गरी १४ ओटा उडान गरिरहेको आचार्यले जानकारी दिए । यसअघि १० ओटा उडानको मात्र सम्झौता भएकोले थाई एयरले ७ ओटा र थाई लाइनले ३ ओटा स्थायी रूपमा र ४ ओटा अस्थायी रूपमा उडान गर्दै आएको थियो । यो सम्झौताले थाइल्याण्डका कुनै पनि विमान सेवा कम्पनीले नेपालमा थप १४ ओटा उडान गर्न सक्नेछन् । गत असारमा नेपालले जापानसँग पनि हवाई सम्झौता नवीकरण गरेको थियो । नेपाली जहाजले जापानको हानेडा विमानस्थलबाहेक सबै विमानस्थलमा साताको १४ ओटा उडान गर्ने गरी दुई देशबीच सम्झौता भएको हो । यसअघि सन् १९९३ को हवाई सम्झौताअनुसार नेपाली जहाजले जापानको लाओस विमानस्थलमा सातामा २ ओटा उडाउन पाउँथे । त्यसमा पनि बोइङ ७२७ र ७५७ मात्रै उडाउन पाउने सहमति थियो । पछिल्लो सम्झौतामा नेपालले जापानमा सबै प्रकारका बिमानबाट सातामै १४ ओटा उडान गर्न पाउनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)