काठमाडौं । बाराको करैयामाई गाउँपालिकाका दीपक पासवानले ५ महीनाअघि रू. १७ लाखको लगानीमा माछापालन व्यवसाय शुरू गरे । उनले ३० कट्ठाको पोखरीमा ठूला र १० कट्ठाको पोखरीमा भुरा माछाहरू हुर्काइरहेका थिए । दुवै पोखरीमा गरेर करीब रू. ५० लाखबराबरको माछा थियो । दुर्भाग्य ! कात्तिक ९ गते राति उनको पोखरीमा अज्ञात समूहले विष हालिदिँदा दुवै पोखरीमा रहेका करीब २५ हजार माछा मरे । त्यसबाट व्यवसाय शुरू गरेको पहिलो वर्षमै उनले ठूलो व्यावसायिक क्षति बेहोर्नुप।यो ।
गाउँघरबाट चलनचल्तीको ब्याजदरमा ऋण लिएर माछापालनमा उनले लगानी गरेका थिए । आकस्मिक रूपमा यस्तो विपद् आइपर्दा उनीसँग एकातिर माछापालनमा पुनः लगानी गर्ने पैसा छैन भने अर्कोतिर स्थानीयसँग लिएको ऋण तिर्नसक्ने अवस्थासमेत छैन । यसले उनी थप समस्यामा परेका छन् । पासवान माछापालनमा नयाँ व्यवसायी हुन् । माछा बीमालेखअनुसार पोखरीमा भूरा राखेको १५ दिनभित्र माछाको बीमा गरिसक्नुपर्ने हुन्छ । तर, पासवानले कुनै पनि माछाको बीमा गराएका थिएनन् । त्यसैले दोषी पत्ता नलागेसम्म उनले क्षतिपूर्ति पाउनसक्ने सम्भावना छैन ।
पासवानले माछाको बीमा गरेको भए बीमा कम्पनीबाट आउने बीमाङ्क रकम पुनः माछापालनमा लगानी गर्न वा ऋण तिर्न सक्थे । तर, बीमा नगरेका कारण त्यो सम्भव छैन । समयमा नै आपूmले पालेको माछाको बीमा नगर्दा यतिबेला पासवान पछुताइरहेका छन् । आँधीबेहरी, असिना, हिउँ, तुसारो, बाढी, पहिरो र खडेरीजस्ता प्राकृतिक विपद् माछापालनका लागि जोखीमयुक्त मानिन्छन् । तसर्थ, व्यवसायीले जोखीम कम गर्न र बीमामार्फत जोखीम हस्तान्तरण गर्न ध्यान दिनुपर्ने जानकारहरू बताउँछन् ।
बीमाविज्ञ रवीन्द्र घिमिरेले भविष्यमा हुनसक्ने विपद्लाई ध्यानमा राखी माछाको बीमा गर्नुपर्ने बताए । उनले भने, ‘प्राकृतिक लगायतका विभिन्न विपद्का कारण व्यवसायीले माछापालनमा नोक्सानी बेहोर्नु परेको छ ।
त्यस्ता विपद्बाट हुने नोक्सानीलाई आर्थिक रूपमा कम गर्न माछाको बीमा गर्न आवश्यक छ ।’ उनका अनुसार माछापालन कम जोखीमयुक्त भएकाले सस्तो प्रिमियममा नै बीमा गर्न सकिन्छ । अन्य व्यवसायको तुलनामा माछापालनमा जोखीम कम हुन्छ । उच्च हेरचाह र माछामा रोगसँग लड्ने क्षमताका कारण यो व्यवसायमा कम जोखीम भएको विज्ञहरूको भनाइ छ ।
तथापि भूकम्प, खडेरी, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण व्यवसायीले माछापालनमा नोक्सानी बेहोर्दै आएका छन् । त्यस्तो अवस्थामा आर्थिक रूपमा क्षतिपूर्ति पाउन बीमा नै उपयुक्त विकल्प भएको विज्ञ घिमिरे बताउँछन् ।
यसरी गर्न सकिन्छ माछाको बीमा
बीमितले माछाको बीमा गर्दा प्रस्ताव फारामसँगै मत्स्य प्राविधिकद्वारा माछा बीमा गर्न योग्य भएको प्रमाणपत्र अनिवार्य संलग्न गर्नुपर्छ । मत्स्य बीज नेपालकै मान्यताप्राप्त नर्सरी तथा कानूनअनुसार विदेशबाट आयात गरिएको हुनुपर्छ । यसरी आवश्यक प्रक्रिया पुगेपछि प्राविधिक टोलीले पोखरीको क्षमता, सम्भावित जोखीमजस्ता मापदण्डलाई आधार मानेर बीमाङ्क र त्यसको बीमाशुल्क तोक्छ ।
सामान्यतया १ वर्षको बीमाअवधिका लागि बीमाङ्कको २ प्रतिशत बीमाशुल्क तिर्नुपर्ने बीमालेखमा उल्लेख छ । माछाधनीले माछाको बीमा गर्नुअगाडि पोखरीमा राखिएको भुराको संख्या, बीचबीचमा बेचबिखन गरिएको माछाको सङ्ख्या, आहार, लागेको रोग, रोग निदानका लागि अपनाइएका विधि, खर्च इत्यादिको अद्यावधिक अभिलेख राख्नुपर्छ ।
यस्तो छ दाबी प्रक्रिया
बीमित माछा मरेमा ७ दिनभित्र माछाधनीले आवश्यक कागजपत्रसहित बीमा कम्पनीमा दाबी पेश गर्नुपर्छ । दाबी पेश गर्दा सक्कली बीमालेख, दाबी फाराम, प्राविधिकले माछा मरेको भनी प्रमाणित गरेको प्रमाणपत्र, स्थानीय तहको सिफारिशलगायत कागजपत्र समावेश गर्नुपर्छ ।