कात्तिक २९, काठमाडौं । केही दिन अघि पक्राउ परेका चन्द्रकान्त (सीके) राउतलाई आदेश बमोजिम सर्वोच्च अदालत उपस्थित गराइएको छ । सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीका अनुसार राउतलाई बिहीबार दिउँसो प्रहरीले उपस्थित गराएको हो ।
राष्ट्रियता विरुद्ध अभिव्यक्ति दिएको आरोप लगाई प्रहरीले राउतलाई दुई साता अघि पक्राउ गरेको थियो । राउतलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबी गरी सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाईपछि सर्वोच्चले राउतलाई पक्राउ गर्नुपर्नाको लिखित कारणसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको थियो ।
सर्वोच्चका सहायक प्रवक्ता कालाखेतीले सो आदेश बमोजिम उनलाई उपस्थित गराइएको जानकारी दिए । बन्दीसहित प्रहरीले लिखित जवाफ पनि पेश गरेको कालाखेतीले बताए । राउतलाई गैरकानूनी रुपमा पक्राउ गरिएको हो वा होइन भन्ने बारेमा शुक्रवार सर्वोच्चमा बहस हुने सहायक प्रवक्ता कालाखेतीले जानकारी गराए ।