डुडेझाँडी औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्न २७५ आवेदन
Nov 21, 2018
 
समाचार
मङ्सिर ५, धनगढी । सरकारले कैलालीको डुडेझाँडी लम्कीमा विशेष आर्थिक क्षेत्र (सेज) घोषणा गरेपछि सो क्षेत्रमा उद्योग सञ्चालनका लागि दुई सय ७५ ओटा आवेदन परेको छ । औद्योगिक क्षेत्रका लागि नक्साङ्कन, सीमाङ्कनको काम सम्पन्न भएर विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम पनि सम्पन्न भइसकेको छ । विस्तृत वातावरण प्रभाव मुल्याङ्कन (आइइ) प्रतिवेदन पनि निर्माण सम्पन्न भएर मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले बताए ।
एक हजार एक सय विगाहा क्षेत्रफलमा उद्योग स्थापनाका लागि विभिन्न उद्योगी व्यवसायीका आवेदन पर्ने क्रम बढ्दै गएको थापाले जानकारी गराए । उद्योगको क्षमता हेरेर जमिन उपलब्ध गराउने उनको भनाई छ । यो औद्योगिक क्षेत्र ६ नम्वर प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई पायक पर्ने स्थानमा भएकाले पूर्वी क्षेत्रबाट सिमेण्ट, छड, राइसमिल, कागज उद्योग, दाना तथा पाइप उद्योग स्थापनाका लागि आवेदन परेको थापाले बताए ।
सरकारले यसअघि कैलालीको डुडेझाँडी र कञ्चनपुरको दैजीछेला सेज घोषणा गरेपछि दुवै जिल्लाका सेजको डीपीआर निर्माण सम्पन्न भएको बताइएको छ । दैजीछेला सेजको डीपीआर निर्माण सम्पन्न भइसकेको वेदकोट नगरपालिकाका नगरप्रमुख अशोक चन्दले बताए । थप गृहकार्य भइरहेको उनले बताए ।
दैजीछेलामा नौ सय विगाहा क्षेत्रफलमा डीपीआर र आइइका लागि ४७ लाख डुडेझाँडी सेजभित्र ११ सय विगाहाका लागि ६० लाख रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो । डुडेझाँडी सेजको औपचारिक रुपमा घोषणा हुन बाँकी रहेकाले काम लम्बिन गएको बताईएको छ ।