ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अरुण–३ जलविद्युत् आयोजना : स्वदेशी सामग्री प्रयोगमा जोड

Nov 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । अरुण–३ जलविद्युत् आयोजनाको निर्माणमा स्वदेशी सामग्री प्रयोग गर्न यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आग्रह गरेका छन् । विराटनगरस्थित लगानी बोर्डको कार्यालयको सहजीकरणमा आयोजनाद्वारा बिहीवार यहाँ भएको कार्यक्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन् । कार्यक्रम अरुण–३ जलविद्युत् आयोजनामा कस्तो खालको निर्माण सामग्री प्रयोग गर्ने र निर्माण सामग्री कहाँबाट कसरी उपलब्ध गराउने विषयमा केन्द्रित थियो । कार्यक्रममा प्रदेश नं. १ का उद्योगी, व्यापारी, इञ्जिनीयर तथा आयोजनासम्बद्ध व्यक्तिहरूको सहभागिता थियो । कार्यक्रममा जानकारी दिइएअनुसार आयोजना निर्माणका लागि १४ लाख ४२ हजार ७ सय २७ घनमिटर बालुवा, ४ लाख ५८ हजार ८ मेट्रिकटन सिमेण्ट तथा साढे ४८ हजार मेट्रिक टन स्टील आवश्यक पर्छ । अरुण–३ अहिले बनिरहेका ठूला आयोजनामध्येको एउटा हो । ५ वर्षभित्र निर्माण पूरा गरिसक्ने लक्ष्य रहेको उक्त आयोजनाको कुल लागत रू. १ खर्ब ४ अर्ब रहेको छ । आयोजनाको विद्युत् उत्पादन क्षमता ९ सय मेगावाट छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउतले आयोजनालाई चाहिने सिमेण्ट, ढुङ्गा, गिट्टी तथा छडजस्ता निर्माण सामग्री स्वदेशमै उत्पादन हुने भएकाले सोही सामग्री प्रयोग गर्न आग्रह गरे । उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारकाले स्वदेशमै पनि गुणस्तरयुक्त सामग्री उत्पादन भइरहेकाले त्यस्ता सामग्री अन्य देशबाट ल्याउन नहुने बताए । उनले भने, ‘स्वदेशी आयोजनाले स्वदेशी उत्पादनको प्रयोग गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्छ ।’ आयोजनाका प्रमुख कार्यकारी अधिकृत सतीशकुमार शर्माले आयोजना निर्माणमा पहिलो प्राथमिकता स्वदेशी उत्पादनलाई दिइने बताए । उनले भने, ‘नेपालमा उत्पादन नहुने सामग्रीमात्र अन्य मुलुकबाट ल्याइनेछ ।’ उनका अनुसार निर्माणमा प्रयोग हुने कतिपय सामग्री नेपालमा उत्पादन हुँदैनन् । उनले कोशी राजमार्ग ठाउँठाउँमा भत्केकाले सामग्रीको ढुवानीमा भने समस्या हुने गरेको बताए । आयोजनाको काम ६ महीनाअघि शुरू भएको हो । १ नं. प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेले अरुण–३ प्रदेशकै गौरवको विषय भएकोले समयमै पूरा हुनुपर्नेमा जोड दिए । उक्त आयोजनाको निर्माणले प्रदेश नं. १ को विकासको ढोका खोल्ने भएकाले प्रदेशमा निर्वाध रूपले लगानी गर्न उनले लगानीकर्तालाई आग्रह गरे । उक्त आयोजना निर्माणमा लागि २०७१ मङ्सिर ९ गते नेपाल सरकार र परियोजना विकासकर्ता एसजेभीएन अरुण–३ पावर डेभलपमेण्ट कम्पनीबीच सम्झैता भएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)