ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कांग्रेसको अर्थनीति प्रतिवेदन :‘वैदेशिक लगानी ७५ प्रतिशत कम’

Dec 6, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा गत वर्षभन्दा वैदेशिक लगानी ७५ प्रतिशत कम देखिएको बताएको छ । कांग्रेस केन्द्रीय कार्य समितिमा बुधवार पेश गरिएको पार्टीको अर्थनीति प्रतिवेदनमा सरकारले लिएको अर्थनीति गलत भएको निष्कर्ष निकाल्दै वैदेशिक लगानी कम रहेको बताएको हो । सरकारले लिएको अर्थ नीतिको बाटोबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दाबी पनि सो प्रतिवेदनमा गरिएको छ । अर्थ समितिका संयोजक एवम् पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार सरकारले ‘नियन्त्रण र निषेध’मा आधारित अर्थनीति ल्याएको बताए । उनले भने, ‘यसबाट मुलुकको समृद्धि सम्भव छैन, बाह्य लगानी बढ्नसक्ने अवस्था रहन्न ।’ स्वदेशी पूँजी पलायन हुने क्रम बढ्दै जानुमा पनि सरकारको गलत नीति रहेको निष्कर्ष निकालेको छ । अर्थनीतिसम्बन्धी प्रतिवेदनमा मुलुकलाई समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ । आर्थिक नीतिमा प्रजातान्त्रिक समाजवादी बाटोबाटै मुलुकलाई समृद्ध बनाउन सकिने निष्कर्ष निकालिएको छ । आसन्न मंसिर २८ गतेदेखि शुरू हुने पार्टीको महासमिति बैठकमा पेश गर्न पार्टीको आर्थिक समितिले सो प्रतिवेदन तयार पारेको हो । समयमै बजेट प्रस्तुत हुँदा पनि पूँजीगत खर्च पहिलो चौमासमा विनियोजनको ५ प्रतिशत नाघ्न नसक्नु दुःखद रहेको बताइएको छ । यसको प्रतिकूल असर विकासको न्यून गतिका अतिरिक्त बैंकिङ प्रणालीको तरलता अभावका रूपमा प्रकट हुँदै गएको बताउँदै कांग्रेसले कम्युनिष्ट सरकारले मुलुकको अर्थतन्त्रलाई जोखिम उन्मुख बनाएको दाबी गरेको छ । चालू आवको असार मसान्तमा १० अर्ब ८ करोड डलर रहेको विदेशी मुद्रा सञ्चिती असोज मसान्तमा रू. ९ अर्ब ८३ करोडमा झरेको बताउँदै कांग्रेसले विगत लामो समयदेखि यात्राका लागि दिइने विदेशी मुद्रा सटही सुविधामा ४० प्रतिशतको कटौती हुनु गलत भएको प्रतिवेदनमा उल्लेख गरेको छ । गत वर्ष भदौमा १ हजार ५ सय ३० र माघमा १ हजार ३ सय ८० रहेको नेप्से परिसूचक अहिले १ हजार २ सयको वरिपरि रहनुले पूँजी बजार त्रसित अवस्थामा रहेको कांग्रेसको ठम्याइ छ । चालु खाता र शोधनान्तर सन्तुलन नराम्ररी खस्केको र आन्तरिक निजी लगानीमा पनि वृद्धि हुन नसकेको भन्दै कांग्रेसले कम्युनिष्ट सरकार माथिको अविश्वासको कारण पूँजी पलायन तीव्र भएको अनुमान समेत प्रतिवेदनमा गरेको छ । समुन्नत आर्थिक वृद्धिका लागि पर्यटनमा गुणात्मक र संख्यात्मक फड्को चाहिएको कांग्रेसको ठम्याइ छ । प्रतिवेदनमा भनिएको छ, ‘औसत बसाइ र प्रतिदिन डलर खर्चमा व्यापक वृद्धि, पश्चिमा मुलुक, जापानलगायत पूर्वी एशियाली राष्ट्र तथा खासगरी चीन, भारतलगायत उदीयमान मुलुकका मध्यम वर्गीय पर्यटकको आगमन बढाउनुपर्छ ।’ व्यापारघाटा घटाउन आयातित पेट्रोलियम पदार्थमाथि घरायसी र यातायात क्षेत्रको निर्भरता सन् २०३० भित्र भारी कटौती गर्ने कांग्रेसको नीति छ । यस्तै, विश्व बैंकको ‘डुइङ बिजनेश प्रतिवेदन–२०१९’ का अनुसार नेपालको व्यावसायिक वातावरणको विश्व वरीयता गत वर्षभन्दा पाँच स्थान तल झरेकाप्रति कांग्रेसले विश्वसनियतामाथि प्रश्न उठेको जनाएको छ । आफ्नो प्रतिवेदनमा भनेको छ, ‘लगानीको वातावरण बन्न नसकेको अवस्थामा मूल्यवृद्धिजस्ता नकारात्मक तथ्यांकहरूलाई दबाउने र आर्थिक वृद्धिदर भने ८ प्रतिशत हासिल हुने हौवा पिटाउन वर्तमान सरकार लिप्त हुँदा यसको विश्वशनीयतामा ठूलो ह्रास आएको देखियो ।’ लगानी निरुत्साहित हुने गरी आयकरको दर तोकिएको छ । औद्योगिकीकरण प्रवद्र्धन नहुने र कृषिजन्य वस्तुको संरक्षण पनि नहुने गरी भन्सार दरहरू तोकिएका छन् । अन्तरनिकाय वस्तुको ओसारपसार र विक्रीमा उठाइएको कर तथा शुल्कलाई राज्यले नियमन गर्न नसक्दा राष्ट्रिय बजारलाई संविधानको मर्मविपरीत खण्डित गरेको कांग्रेसको प्रतिवेदनमा उल्लेख छ । कांग्रेसको प्रतिवेदनमा आगामी १० वर्षभित्र नेपाललाई एउटा सम्मानजनक मध्यम आय भएको गतिशील राष्ट्र बनाउने संकल्पका साथ नेपाली कांग्रेस सक्रिय हुने जानकारी दिइएको छ । उसको प्रतिवेदनमा भनिएको छ, ‘कम्तीमा पनि वार्षिक ७ देखि १० प्रतिशतसम्मको आर्थिक वृद्धि दर निरन्तर हासिल गर्न उपयुक्त आन्तरिक तथा बाह्य लगानीको वातावरण बन्न आवश्यक छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)