ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकी जलाशययुक्त परियोजनाको अध्ययन शुरू

Dec 9, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । कालीगण्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजनाको काम शुरू भएको छ । ऊर्जा तथा जलस्रोत मन्त्रालयले परियोजनाको प्रारम्भिक अध्ययन थालेको छ । उक्त परियोजनाबाट पर्वत, बागलुङ र गुल्मीका ६ स्थानीय तह लाभान्वित हुनेछन् । अघिल्लो वर्ष पर्वतको कुश्मा र फलेवास नगरपालिका तथा बिहादी गाउँपालिका, बागलुङको बागलुङ र जैमिनी नगरपालिका तथा गुल्मीको कालीगण्डकी गाउँपालिकाले कालीगण्डकीमा जलाशययुक्त परियोजना निर्माण गर्ने विषयमा केन्द्र सरकारसमक्ष प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार केन्द्र सरकारले चालू वर्षको बजेट, नीति तथा कार्यक्रममा यो योजनाको सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गरेको थियो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले अध्ययनको काम शुरू भइसकेको जानकारी दिए । ‘मन्त्रालयको एक टोली आएर प्रारम्भिक अध्ययन शुरू गरिसकेको छ’, शर्माले भने । उनका अनुसार कालीगण्डकी जलाशययुक्त परियोजनाबाट १ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । यसका अलवा सिँचाइ र जल यातायात समेत सञ्चालन गर्न सकिने गरी परियोजनाको अवधारणा ल्याइएको हो । अध्ययनका लागि पहिलो चरणमा ५० लाख रुपैयाँ विनियोजन भएको छ । सर्वेक्षणका लागि विद्युत् विकास विभागको एउटा टोलीले गत सातादेखि भौगोलिक अवस्था, विद्युत्गृह, बाँध निर्माण गर्न सकिने स्थलहरूको स्थलगत निरीक्षण र अवलोकन गरेको छ । टोलीले अध्ययनको प्रतिवेदन मन्त्रालयका बुझाउने तयारी गरेको छ । अध्ययनमा सहभागी इन्जिनीयर रवि नेपालले निर्माणस्थल र भौगर्भिक अवस्थाका बारेमा जानकारी लिएर प्रतिवेदन तयारीमा जुटेको बताए । परियोजनाको ड्याम फलेवास–११ पाङराङको श्रीकाङ अथवा बिहादी–२, बर्राचौरको घुमाउने नजीकै रहनसक्ने जानकारी दिए । कालीगण्डकीमा पर्वतको बिहादी गाउँपालिका–१, बाच्छा र बिहादी तथा बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीको खोंचमा बहाव थुनेर १ सय ४५ मिटर अग्लो बाँध बनाउन सकिने अध्ययन टोलीको भनाइ छ । परियोजना अघि बढेमा पर्वत, बागलुङ र गुल्मीको ठूलो क्षेत्रफलको भूभागमा पर्यटन, सिँचाइ र यातायातका क्षेत्रमा फड्को मार्न सकिने सरोकारवालाको दाबी छ । जलाशयमा कालीगण्डकीको झन्डै ६० किलोमिटर क्षेत्रमा जलयातायात सञ्चालन गर्न सकिने अध्ययनबाट देखिएको छ । कालीगण्डकी १ सय २० देखि २ सय मिटरसम्म गहिरो खोंच बनाएर बगेका कारण त्यो बाँधबाट बन्ने जलाशय ६० किमी माथि मालढुंगासम्म आइपुग्ने अनुमान छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)