ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकी कोरिडोर प्रसारण लाइनको काम तीव्र

Dec 14, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कामले गति लिएको छ । कोरिडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म जोड्ने प्रसारण लाइन र सबस्टेशन निर्माण धमाधम भइरहेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सबस्टेशन निर्माण भइरहेको छ ।

दानामा ७० र खुर्कोटमा ६० प्रतिशत निर्माण सकिएको छ । २२० केभी क्षमताको उक्त आयोजनामा तार तान्ने कामसमेत अघि बढाइएको आयोजनाका सहायक निर्देशक रमेश खड्काले बताए । ‘दाना–खुर्कोट ३९ किलोमिटरमा १ सय १४ ओटा टावर बनाउनुपर्नेमा हालसम्म ६५ ओटा सम्पन्न भएको छ, २० ठाउँमा फाउण्डेशन तयार भएको छ,’ उनले भने, ‘तिप्ल्याङ, महभीर र धाइरिङबाट तार तान्ने काम पनि भइरहेको छ ।’

एशियाली विकास बैंकको करीब २ अर्ब ७५ करोड ऋण सहयोगमा उक्त आयोजना बनाउन लागिएको हो । प्रसारण लाइन विस्तारको जिम्मेवारी टाटा एण्ड चिण्ट इलेक्ट्रिक कम्पनीले पाएको छ । सन् २०१६ को सेप्टेम्बरमा थालिएको काम २०१८ को नोबेम्बरमा सक्ने लक्ष्य थियो । तर सरकारी प्रक्रिया, मुआब्जा लगायत कारण ढिलाइ भएपछि ६ महीना समय थपिएको छ । ‘अहिलेसम्म करीब ७५ प्रतिशत काम सकिएको छ । केही ठाउँमा स्थानीयको विरोध भए पनि थपिएको समयभित्रै सम्पन्न हुनेगरी काम भइरहेको छ,’ आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने ।

म्याग्दी र मुस्ताङका आयोजनाबाट उत्पादित विद्युत् यो प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो प्रसारण लाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरू गरिसकेको छ भने अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १ सय मेगावाटको निलगिरि तथा निलगिरि क्यास्केट निर्माणाधीन छन् । यसैगरी रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाट आयोजनाले पनि निर्माण थालेको छ । प्रसारण लाइन निर्माण तीव्र भएसँगै कालीगण्डकी र सहायक खोलानालाबाट विद्युत् उत्पादनका लागि लाइसेन्स लिएर बसेकाहरू पूर्वाधार निर्माणमा जुटेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)