काठमाडौं । चक्रपथअन्तर्गतको कोटेश्वर–कलंकी सडक खण्ड (१० दशमलव ४ किमी) आगामी बिहीवार सरकारलाई हस्तान्तरण हुने भएको छ । शनिवार हुने भनिएको हस्तान्तरण केही काम बाँकी रहेकाले बिहीवार (२० तारीख)लाई सारिएको काठमाडौं चक्रपथ सुधार योजनाले जानकारी दिएको छ ।
चिनियाँ सरकारको सहयोगमा सुधार परियोजनाका रूपमा सरकारले चक्रपथको स्तरोन्नति गरिरहेको छ । उक्त परियोजना सुधारको काम चिनियाँ निर्माण कम्पनी साङ्हाई कन्स्ट्रक्शन ग्रूपले गरिरहेको छ । कोटेश्वरदेखि धोबीघाटसम्मको सुधार सम्पन्न गरेको कम्पनीले धोबीघाटदेखि कलंकी खण्डको भने काम सम्पन्न नगरी बुझाउने भएको छ ।
केही कानूनी प्रक्रिया बाँकी रहेकाले त्यो सकी बिहीवार हस्तान्तरण हुने योजना निर्देशक सुजन खनालले जानकारी दिए । बाँकी रहेको कानूनी प्रक्रियाका सम्बन्धमा भने उनले खुलाउन चाहेनन् । धोबीघाटदेखि कलंकीबीचमा सर्भिस ट्र्याकको काम अधुरै रहेको छ । सम्भवतः काम अधुरै रहेको अवस्थामा कम्पनीले परियोजना हस्तान्तरण गर्दा अपनाउनुपर्ने कानूनी प्रक्रिया सम्पन्न गर्न लागिएको हो ।
अदूरदर्शी डिजाइन उक्त सडक खण्डमा तीनओटा आकाशे पुल र एउटा अन्डरपाससहितको डिजाइन कम्पनीलाई बुझाएको सरकारले काम सकिन लागेपछि थप संरचना बनाउन थालेको छ । कम्पनीले डिजाइनमा उल्लेख गरिएभन्दा बढी संरचना नबनाउने भएका कारण सरकार आपैmले लगानी गरेर थप ६ ओटा आकाशेपुल निर्माण गर्न थालेको हो ।