ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन विमानस्थल : पार्किङ क्षमता बढाइँदै

Dec 25, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ठूला विमान पार्किङको क्षमता हालको भन्दा करीब दोब्बर हुने भएको छ । विमानस्थल कार्यालयले मौजुदा पार्किङ वेको पूर्व र दक्षिणतर्फ बनाइरहेको दुई पार्किङ वे निर्माण भएपछि हालको भन्दा ५० प्रतिशत पार्किङ क्षमता बढ्ने भएको हो । अबको २ महीनाभित्रै पूर्वतर्फको र आउने वर्षको वैशाखसम्ममा दक्षिणतर्फको पार्किङ वे सञ्चालनमा ल्याउन सकिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा अहिले ३ ओटा ठूला (वाइडबडी) र ६ ओटा साना (न्यारोबडी) गरी जम्मा ९ ओटा जहाज मात्र पार्किङ गर्न सकिन्छ । नयाँ पार्किङ वे निर्माणपछि १३ ओटा ठूला जहाज पार्किङ गर्न सकिनेछ । सरकारले अहिले विमानस्थल विकास कोष (एडीएफ)को रू. १ अर्ब ६ करोडको लागतमा दुई ओटा पार्किङ वे निर्माण गरिरहेको छ । निर्माण गर्न लागिएका मध्ये पूर्वतर्फको ‘पार्किङ वे’ निर्माणमा रू. ४७ करोड र दक्षिणतर्फको ‘पार्किङ वे’ निर्माणमा रू. ५९ करोड खर्च हुने महाप्रबन्धक क्षत्रीले जानकारी दिए । पूर्वतिर २ ओटा ठूला (वाइडबडी एयरबस) जहाज र ३ ओटासम्म साना (एटीआर) जहाज र दक्षिणतिर २ ओटा वाइडबडी र तीनओटा साना (एटीआर) जहाज राख्न सकिने क्षत्रीले बताए । विमानस्थलका पूर्वतर्फको पार्किङ वेको काम ७० प्रतिशत र दक्षिणतर्फको काम ४० प्रतिशतभन्दा बढी भइसकेको विमानस्थलका इन्जिनीयर चन्द्रमणि सापकोटाले जानकारी दिए । उनले भने, ‘अहिले दुवैतर्फको आधारभूत काम करीब सकिएको छ ।’ यी दुई पार्किङ वे सञ्चालनपछि विमान उडान होल्ड हुने समस्या पनि केही कम हुने उनले बताए । आन्तरिकतर्फ रात्रिकालीन उडान विमानस्थलले उडान चाप कम गर्न रात्रिकालीन उडान समेत शुरू गरेको छ । काठमाडौं बाहिरका केही विमानस्थलमा राति ९ बजेसम्म उडान शुरू गरिएको महाप्रबन्धक क्षत्रीले जानकारी दिए । अहिले त्रिभुवन विमानस्थलबाट भैरहवा,नेपालगञ्ज, विराटनगर र धनगढीमा रात्री उडान हुने गरेको छ । यसबाट अन्तरराष्ट्रिय उडानलाई सहयोग पुग्नुका साथै विमान ढिला हुने समस्या पनि कम भएको छ । यात्रुले समेत सुविधा पाएको उनको धारणा छ । झापाको चन्द्रगढी र जनकपुर विमानस्थलमा पनि रात्रीकालीन उडान शुरू गर्ने गरी काम भइरहेको क्षत्रीले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)