ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बीमक संघ टुक्रिने संकेत : संगठन बनाउँदै जीवन बीमा कम्पनीहरू

Dec 27, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा कम्पनीहरूको छाता संगठन ‘नेपाल बीमक संघ’ टुक्रिने संकेत देखिएको छ । जीवन बीमा कम्पनीहरूले छुट्टै संगठन बनाउने भएपछि बीमक संघ टुक्रिने संकेत देखिएको हो । नेपाल बीमक संघमा अहिले निर्जीवन र जीवन दुवै हेर्ने बीमा कम्पनीहरू सदस्य रहेका छन् । दुई किसिमका बीमा कम्पनीहरूको कार्यक्षेत्र फरकफरक भएका कारण विभिन्न समस्या देखिँदै आएको छ । त्यस्ता समस्यालाई दृष्टिगत गर्दै जीवन बीमा कम्पनीहरूले छुट्टै संगठन विस्तार गर्न लागेका हुन् । जीवन बीमा कम्पनीहरूले अहिले तदर्थ समिति बनाएर यस विषयमा थप छलफल गर्दै आएका छन् । तर, नेपाल बीमक संघबाट छुट्टिने विषयमा भने अझै निर्णय नभएको प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले बताए । बीमक संघमा पुराना ९ जीवन बीमा कम्पनीमात्र आबद्ध छन् । संघमा जीवन बीमा कम्पनीको कम सहभागिता भएका कारण पनि उनीहरूको माग ओझेलमा पर्ने गरेको बताइन्छ । सूर्या लाइफ इन्स्योरेन्सका सीईओ शिवनाथ पाण्डेले जीवन बीमा कम्पनीको संख्या बढेकाले छुट्टै संगठन आवश्यक रहेको बताए । अहिले जीवन बीमा कम्पनीको संख्या १८ पुगेको छ । पाण्डेले भने, ‘जीवन बीमासम्बन्धी मुद्दालाई गहिराइका साथ हेर्न र अध्ययन गर्न पनि छुट्टै संगठन आवश्यक छ ।’ त्यस्तो छुट्टै संगठन भए जीवन बीमा बजारका समस्या समाधान गर्न पनि सहयोग पुग्ने उनको भनाइ छ । अहिले संघमा कोरम पुर्‍याउन जीवन बीमासम्बन्धी छलफलमा निर्जीवन बीमा कम्पनी र निर्जीवन बीमासम्बन्धी छलफलमा जीवन बीमा कम्पनी पनि उपस्थित हुनुपर्ने अवस्था छ । यसले पनि झन्झट देखिएको बीमा कम्पनीहरू बताउँछन् । बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले पनि दुई किसिमका कम्पनीको छुट्टाछुट्टै संगठन हुनु सकारात्मक भएको बताए । अन्तरराष्ट्रिय जगत्मा पनि छुट्टाछुट्टै संगठन भएको स्रोतको दाबी छ । बीमाविज्ञ भोजराज शर्माले विषयवस्तुका आधारमा जीवन र निर्जीवन कम्पनीको छुट्टाछुट्टै संगठन हुन आवश्यक रहेको बताए । उनले भने, ‘छुट्टाछुट्टै संगठन बनाउँदा दुवै बीमाका विषयवस्तुलाई गहिराइमा अध्ययन गर्न सहज हुन्छ ।’ तर, समग्र बीमा बजारका लागि दुवै बीमा कम्पनी ऐक्यबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)