ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२०१८ - उडान सुरक्षाको दृष्टिले खराब वर्ष : विश्वमा ५४४ जनाले ज्यान गुमाए

Jan 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । विश्वमा उडान सुरक्षाको दृष्टिले २०१८ विगत ४ वर्षयताकै सबैभन्दा खराब वर्ष बनेको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)बाट प्रकाशित एभिएशन सेफ्टी रिपोर्ट–२०१८ का अनुसार सन् २०१८ मा विश्वमा ५ हजार ७ सय केजीभन्दा माथिका मानवीय क्षतियुक्त १३ ओटा वायुयान दुर्घटनामा कुल ५ सय ४४ जनाले ज्यान गुमाएका छन् । वायुयान दुर्घटना दर अघिल्लो वर्षको तुलनामा गत वर्ष साढे दुई गुणाले बढी र मृत्युदर १० गुणाभन्दा बढी भएको आइकाओको प्रतिवेदनमा उल्लेख छ । नेपालमा गत वर्षको मार्चमा अन्तरराष्ट्रिय उडानमा रहेको एउटा यूएस बंगलाको विदेशी दर्ताको वायुयान दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए । नेपाली दर्ताका वायुयानतर्फ सन् २०१८ मा सो तौल समूहमा कुनै दुर्घटना नभए पनि साना तौल समूहका हवाई जहाज र हेलिकोप्टर गरी २ ओटा दुर्घटना भएको र ती दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए । सन् २०१७ मा ५ हजार ७ सय केजीभन्दा माथिको तौल समूहमा एउटा विमान दुर्घटना भएको र त्यसमा २ जना व्यक्तिको मृत्यु भएको थियो । सन् २०१८ का ती दुर्घटना हुँदाहुँदै पनि विगत १० वर्षमा विश्वमा उडान सुरक्षाको क्षेत्रमा भने निरन्तर सुधार भइरहेको आइकाओको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्रिभुवन विमानस्थलमा ५८ लाख हवाई यात्रु आवागमन त्रिभुवन विमानस्थलमा सन् २०१८ जनवरीदेखि अक्टोबरभित्र आन्तरिक र बाह्य (अन्तरराष्ट्रिय) गरी ५८ लाख ४३ लाख ४ सय ४२ यात्रु आवागमन भएको प्राधिकरणले जानकारी दिएको छ । सो अवधिमा अन्तरराष्ट्रिय उडानबाट त्रिभुवन विमानस्थलमा ३५ लाख ४२ हजार ५ सय ७८ हवाई यात्रुको आवागमन भएको छ भने आन्तरिक हवाई यातायाततर्फ २३ लाख ८ सय ५५ यात्रुहरूको आवागमन भएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । अन्तरराष्ट्रिय हवाई यात्रु आवागमनतर्फ १३ दशमलव ८५ प्रतिशत र आन्तरिक हवाई यात्रु आवागमनतर्फ १५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा अन्तरराष्ट्रिय कार्गो ढुवानीतर्फ ७ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ भने आन्तरिकतर्फ ९ दशमलव १२ प्रतिशतले ह्रास भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यस्तै सन् २०१७ को जनवरीदेखि अक्टोवरसम्म १० महीनाको तुलनामा सन् २०१८ को सोही अवधिमा अन्तरराष्ट्रिय वायुयान आवागमनतर्फ २ दशमलव २० प्रतिशत र आन्तरिक वायुयान आवागमनतर्फ २ दशमलव ७३ प्रतिशतले वृद्धि भएको देखिन्छ । अहिले त्रिभुवन विमानस्थलमा नेपालका ३ ओटा तथा अन्य १३ मुलुकका २६ वायुसेवा गरी कुल २९ ओटा अन्तरराष्ट्रिय वायुसेवाहरूले २३ ओटा गन्तव्यमा हवाई सेवा सञ्चालन गरिरहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)