काठमाडौं । बुधवार रत्नपार्क, काठमाडौंस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयको कम्प्युटरमा वीरगञ्जस्थित एउटा उद्योगको विद्युत् खपत तथा गुणस्तर लगायतको विवरण देखिइरहेको थियो । एउटा मात्रै नभई यस्ता २ हजार ७ सय ८९ ओटा संस्थाका मिटरको स्थिति कम्प्युटरले देखाइरहेको थियो । साथै १४ ओटा मिटर सञ्चालनमा नरहेको तथा २९ ओटा ‘आज जडान गरिएका’ भनेर समेत तथ्यांक देखिन्थ्यो ।
पहिलो चरणमा देशभरिका करीब ८ हजार ठूला ग्राहकको विद्युत्को स्थिति उसकहाँ जडान गरिएको मिटरबाट यसैगरी प्राप्त गर्ने कार्य धमाधम चलिरहेको छ ।
५० किलोभोल्टभन्दा माथिका मिटरमार्फत विद्युत् उपभोग गर्ने ग्राहकलाई प्राधिकरणले ठूला ग्राहक मान्ने गरेको छ । यो वर्गमा उद्योग, होटल, अस्पताल जस्ता ग्राहक पर्छन् ।
डिजिटल मिटर प्रयोग गर्दै आएका ती ग्राहकको मिटरमा मोडेम जोडी त्यसमा नेपाल टेलिकमको सिमकार्ड राख्ने गरिन्छ । मिटर रिडिङ तथा बिलिङलाई अत्याधुनिक बनाउने उद्देश्यले यो प्रविधि प्रयोग गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपप्रबन्धक मनोजकुमार साहले जानकारी दिए ।
मोडेमले मिटरमा रहेका तथ्यांक लिने र मोडेमभित्र राखिने सिमकार्डले उक्त तथ्यांकलाई केन्द्रसम्म पु¥याउने काम गर्छ । आधारभूत रूपमा एएमआईको प्रयोग मिटर रिडिङ तथा बिलिङका लागि भए पनि यसले सम्बन्धित उपभोक्ताको समयसमयको विद्युत् खपतदेखि अन्य धेरै कुराको समेत जानकारी उपलब्ध गराउने साह बताउँछन् ।
एड्भान्स मिटरिङ इन्फ्रास्ट्रक्चर (एएमआई)का रूपमा चिनिने यो प्रविधिले मिटर रिडिङका क्रममा दुवैतर्फका कर्मचारीबाट हुने अनियमितता अन्त्य गर्ने साहको भनाइ छ । ‘एएमआई प्रविधिको सहयोगमा कुन ग्राहकको कति युनिट विद्युत् खपत भयो र कति महशुल उठ्यो भन्ने यहीँबाट देखिन्छ,’ उनले भने, ‘यति भएपछि प्राधिकरणका साथै सम्बन्धित संस्थाका कर्मचारीबाट हुने छली हुन पाउने छैन ।’
प्राधिकरणले विद्युत् खपतको विस्तृत विवरण सम्बन्धित ग्राहकको मोबाइलमै उपलब्ध गराउने गरी एपको समेत विकास गरिरहेको छ । एपका माध्यमबाट ग्राहकले कुन समयमा आफ्नो कति विद्युत् खपत भइरहेको छ भन्ने समेत हेर्न सक्नेछन् । साथै अनलाइनबाटै पनि विद्युत् महशुल तिर्न सकिने व्यवस्था रहेकाले ग्राहकले घरमै बसीबसी महशुल तिर्न सक्छन् । ‘मिटरबाट प्राप्त तथ्यांकका आधारमा सिस्टमले नै बिलिङ गर्छ,’ साहले भने, ‘उक्त बिल हामी सम्बन्धित ग्राहकले उपलब्ध गराएको मोबाइलमा एसएमएस गर्छौं, त्यसपछि ग्राहकले अनलाइनबाटै विद्युत् महशुल भुक्तानी गर्न सक्छन् ।’
जडानसँगै हाल परीक्षण कालमा रहेको एएमआईबाट प्रत्येक घण्टाको तथ्यांक लिने काम भइरहेको छ । यसले ग्राहकको विद्युत् खपत व्यवहार अध्ययन गरी आवश्यक सुधार गर्न सघाउने रत्नपार्क वितरण केन्द्र प्रमुख थिरकुमार खत्री बताउँछन् । यो प्रविधिअनुरूप करीब डेढ महीनापछिबाट बिलिङ शुरू हुने पनि उनले जानकारी दिए ।
टेलिकमसँगको सहकार्य
प्राधिकरणले एएमआईको प्रयोगका लागि सरकारी स्वामित्वको नेपाल टेलिकमको सिमकार्ड प्रयोगमा ल्याएको छ । यसले गर्दा प्राधिकरणले गरिरहेको प्रविधिको स्तरोन्नतिमा टेलिकमसँगको सहकार्य पनि महत्त्वपूर्ण पाटो रहेको छ । यसका लागि दैनिक दुवै संस्थाका तोकिएका अधिकारीहरूबीच संवाद र सहकार्य हुने गरेको उपप्रबन्धक साहले बताए ।
टेलिकमको टावरमा समस्या हुँदा सम्बन्धित क्षेत्रको मिटरको तथ्यांक प्राप्त हुन नसक्ने उनको भनाइ छ । समाचारदातालाई कम्प्युटरमा देखाउँदै उनले भने, ‘यो १४ ओटा मिटर सञ्चालनमा नरहेको भनेर देखाएको पनि यही समस्याले गर्दा हो, यससम्बन्धमा छलफल भइरहेको छ, चाँडै नै समाधान भइहाल्छ ।’