ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उपत्यका बाहिर व्यवसाय विस्तारमा सोल्टी

Jan 11, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
कठमाडौं । उपत्यका बाहिर स्तरीय होटेल सञ्चालन गर्ने व्यावसायिक रणनीति लिएको सोल्टी होटल लिमिटेडले नेपालगन्ज र पोखरामा होटल तथा रिसोर्ट खोल्ने तयारी गरेको छ । उक्त रणनीतिअनुसार कम्पनीले नेपालगन्जमा होटल स्थापना गरिसकेको छ । यस्तै, प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पाँचतारे स्तरको रिसोर्ट खोल्ने योजना पनि कम्पनीले अघि सारेको छ । सोल्टी होटल स्थापनाको ५० वर्षमा कम्पनीले अहिले विभिन्न सहायक कम्पनीमार्फत होटल तथा रिसोर्ट स्थापना गर्दै आएको छ । तर, नेपालगन्जमा स्थापना भएको ‘सोल्टी वेस्टेन्ड प्रिमियर होटल’ भने परीक्षणका रूपमा सञ्चालनमा आइसकेको छ । नेपालगन्जको उक्त होटल पाँचतारे होटल स्तरको भएको कम्पनीको दाबी छ । ‘नेपालगन्जको होटलको सम्पूर्ण काम सम्पन्न भई गत डिसेम्बरदेखि परीक्षण सञ्चालनमा आइसकेको छ,’ कम्पनीका प्रबन्धक चूडामणि पराजुलीले भने, ‘पाँचतारे स्तरको होटलको मान्यता पाएलगत्तै नेपालगन्जको होटल पूर्ण सञ्चालनमा आउँछ ।’ कम्पनीले पाँचतारे होटलको मान्यता लिन अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पर्यटन विभागमा निवेदन दिइसकेको छ । जग्गाको बाहेक निर्माण लागतमात्रै रू. १ अर्ब २५ करोड लागेको उक्त होटल नेपालकै पहिलो पर्यावरणमैत्री होटल भएको कम्पनीको दाबी छ । अमेरिकाको यूएस ग्रीन बिल्डिङ काउन्सिल (यूएसजीवीसी) बाट पर्यावरणमैत्री हरित होटल ‘लिडरशिप इन इनर्जी एन्ड इन्भाइरोन्मेन्टल डिजाइन’ (लिड)बाट प्रमाणित भई प्रमाणपत्र पाएको कम्पनीको भनाइ छ । प्रदूषण घटाउने, ऊर्जा बचत गर्नेजस्ता उच्च प्रविधिका अत्याधुनिक संयन्त्र जडान गरिएको पनि उल्लेख गरिएको छ । यस्तै पोखरामा खोल्ने भनिएको रिसोर्टका लागि कम्पनीले ३ वर्षअघि नै जग्गा खरीद गरेको थियो । सोही अनुसार ३५ रोपनी क्षेत्रफलमा उक्त रिसोर्ट निर्माण गर्न अहिले कम्पनीले परामर्शदातासँग छलफल गरिरहेको पराजुलीले जानकारी दिए । रिसोर्ट डिजाइन, डेकोरेशनका विषयमा पनि तयारी गरिएको उनको भनाइ छ । कम्पनीका अनुसार उक्त रिसोर्ट पोखराको प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने लेकसाइडको नजीकै खोलिनेछ । कम्पनीले काठमाडौं उपत्यका बाहिर कम्पनीको सोल्टी वेस्टेन्ड, सोल्टी वेस्टेन्ड रिसोर्टस् जस्ता ट्रेडमार्क तथा ब्रान्ड अन्तर्गत स्तरीय होटेलहरू सञ्चालन गर्ने रणनीति लिएको छ । सोही अनुसार कम्पनीको पूर्ण स्वामित्व रहेको सोल्टी हस्पिटालिटी लिमिटेड मार्फत सोल्टी शिवक्रिम होटेल्स् तथा रिसोर्टस् प्रालि स्थापना गरिएको छ । सोल्टी शिवक्रिम होटेल्स् तथा रिसोर्टस् प्रालि सोल्टी तथा अन्य स्वदेशी व्यावसायिक कर्पोरेट संस्थापक लगानीकर्ताको सहकार्यमा संयुक्त लगानी भएको कम्पनी हो । यसै कम्पनीबाट नेपालगन्ज र पोखरामा होटेल/रिसोर्ट निर्माण तथा सञ्चालनका लागि योजना अघि बढेको कम्पनीको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)