ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजगढ विमानस्थलको विकल्प खोज्न अधिकारकर्मीको माग

Feb 7, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको विकल्प खोज्न वातावरण अधिकारकर्मीहरूले माग गरेका छन् । विमानस्थल निर्माणका लागि चारकोसे झाडीको करीब ८ हजार ४६ हेक्टर जंगल फँडानी गर्दा वातावरण विनाश हुने उनीहरूको भनाइ छ । अधिकारकर्मीहरूले बुधवार प्रधानमन्त्री कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा अपील पठाउँदै उक्त माग गरेका हुन् । प्रस्तावित स्थलबाट करीब ३३ किलोमिटर टाढा सर्लाहीको मूर्तियामा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्न उपयुक्त हुने विकल्प पनि उनीहरूले सुझाएका छन् । चुरेक्षेत्रमा विमानस्थल निर्माण गर्दा त्यहाँको वन विनाश भई तराई–मधेश अझ तीव्र रूपमा मरुभूमीकरणको चपेटामा पर्ने अधिकारकर्मीहरूको दाबी छ । उक्त आयोजना निर्माण हुँदा ५ सय प्रजातिका चराचुरुंगी, २२ किसिमका लोपोन्मुख बोटबिरुवा र २३ किसिमका स्तनधारी वन्यजन्तुको वासस्थान मासिने भएकाले विकल्प खोज्न माग गरिएको अधिकारकर्मी डा.प्रभु बुढाथोकीले बताए । विमानस्थल निर्माण र सञ्चालन बारेमा आर्थिक सम्भाव्यताको गहन विश्लेषण नगरिएको वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बताए । ‘निजगढको अर्को विकल्प हुनै सक्दैन’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने अन्तरराष्ट्रिय विमानस्थलका लागि निजगढको विकल्प नै नभएको बताएको छ । सरकारले लामो अध्ययन गरी उक्त स्थान छनोट भएको र धेरै प्रक्रिया अघि बढिसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भने, ‘देशभरका आठओटा स्थानमा अध्ययन गरी निजगढलाई छनोट गरिएको हो ।’ निजगढमा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि २०७१ फागुन २९ गते मन्त्रिपरिषद्ले चार किल्ला छुट्ट्याएको थियो । २३ वर्षअघि सन् १९९५ मा नेपिको नामक कम्पनीले ८ ठाउँमा अन्तरराष्ट्रिय विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनपछि निजगढ नै सबैभन्दा उपयुक्त हुने ठहर गरेको थियो । प्रस्तावित निजगढ विमानस्थल सरकारको राष्ट्रिय गौरवका आयोजनाको सूचीमा छ । मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अति व्यस्त रहँदा ठूला विमानको उडान र अवतरणमा कठिनाइ छ । सोही कारण निजगढमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणको प्रस्ताव गरिएको हो । कोरियन कम्पनी एलएमडब्ल्यूले २०६६ फागुनमा रू. ३६ करोड लागतमा विमानस्थलको पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम पनि निजगढको विकल्प सोच्न नसकिने बताउँछन् । ‘व्यापक अध्ययनपछि आयोजना प्रस्ताव गरिएकाले त्यहाँ बनाउनु हुँदैन भन्नु विकास विरोधी सोच हो,’ गौतमले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)