प्रसारण लाइन निर्माण : ‘चुनौतीसँग सहकार्य गरेर सफल’
Feb 18, 2019
 
समाचार
काठमाडौं । प्रसारण लाइन निर्माणको सबैभन्दा जटिल चुनौतीका रूपमा मानिँदै आएका आयोजनाका प्रभावितसँगको सहकार्य काम समयमा सम्पन्न गर्ने प्रमुख आधार रहेको कस्मिक इलेक्ट्रिकलले बताएको छ । कम्पनीले आयोजना विकासको पहिलो चरणमै प्रभावितका प्रतिनिधिलाई योजना समितिमा राखी काम गर्ने गरेको छ । आफ्नो यस रणनीतिका कारण निर्धारित समय अगावै आयोजना सम्पन्न हुने गरेको आयोजनाका प्रबन्ध निर्देशक महेश महतो बताउँछन् ।
शुरूदेखि नै प्रभावितलाई समावेश गर्दा अवरोधको सट्टा सहकार्यको वातावरण बन्ने महतोको भनाइ छ । प्रसारण लाइन निर्माणका क्रममा सृजना हुनेमध्ये मिल्नेसम्मको रोजगारी स्थानीयवासीलाई दिनुले पनि आफ्नो कम्पनीले निर्धारित समयअघि नै काम सम्पन्न गरेको महतोको दाबी छ । करीब ५० प्रतिशत काममा स्थानीयवासीलाई सहभागी गराउन सकिने उनी बताउँछन् ।
माथिल्लो सोलुखोलाको प्रसारण लाइन सम्झौता
हालै माथिल्लो सोलुखोला जलविद्युत् आयोजना (१८ मेगावाट)बाट उत्पादन हुने विद्युत् प्रसारणका लागि कस्मिकले आयोजनाको प्रबद्र्धक बेनी हाइड्रोपावर कम्पनीसँग सम्झौता गरेको छ । कस्मिकले आयोजनास्थल सोलुखुम्बुको बेनी गाउँपालिकादेखि नेपाल विद्युत् प्राधिकरणको सबस्टेशन लमानेसम्म १३२ केभी क्षमताको १२ किलोमिटर प्रसारण लाइन निर्माण गर्नेछ ।
प्रसारण लाइन पूर्णतः व्यक्तिका जग्गा हुँदै जाने महतो बताउँछन् । यस्तो अवस्थामा प्रभावितले जग्गा दिन नचाहँदा प्रसारण लाइन बन्न नसकेका धेरै उदाहरण रहेका छन् । निजी क्षेत्रले मात्रै नभई सरकारको निकाय नेपाल विद्युत् प्राधिकरणले विकास गरेका प्रसारण लाइनहरूमा समेत प्रभावित स्थानीयवासीको अवरोध रहँदै आएको छ । राष्ट्रिय प्रसारणअन्तर्गतको रणनीतिक महत्त्वको खिम्ती–ढल्केवर (२२० केभी) प्रसारण लाइन पनि व्यक्तिको जग्गाको विषयले वर्षौं अड्किएको उदाहरण छ । यस्तै समस्याका कारण आजका दिनमा पनि प्रसारण लाइनको विस्तार समयमा गर्न नसकिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउँदै आएका छन् ।
१ वर्षभित्र माथिल्लो सोलुको प्रसारण लाइन
कस्मिकले बेनी हाइड्रोपावर कम्पनीसँग १ वर्षभित्रमा प्रसारण लाइन सम्पन्न गर्ने सम्झौता गरेको छ । यसका लागि आइतवारदेखि नै सर्वेक्षण लगायत पहिलो चरणको काम थाल्ने महतोले जानकारी दिए । ‘४/४ महीनाको तीन चरणमा काम गर्छौं,’ उनले भने, ‘पहिलो चरणको काम समयमा सकियो भने बाँकी कामका लागि कुनै समस्या नै हुँदैन ।’ पहिलो चरणमा तीनै पक्षको संयुक्त समूह बनाई जग्गा प्राप्तिको काम सक्ने, नक्सा, डिजाइन र निर्माण पूर्वका सम्पूर्ण कार्य सम्पन्न गर्ने उनले बताए । दोस्रो चरणमा टावरका लागि फाउन्डेशन तयार पार्ने सँगसँगै आवश्यक सामग्री किन्ने तथा तेस्रो चरणमा टावर जडान र तार तान्ने काम छन् ।
प्रसारण लाइन निर्माणमा नेपालमै उत्पादित तारको प्रयोग हुने गरेको छ । त्यसबाहेक टावर तथा अन्य सामग्री भने भारत र चीनबाट आयात गरिने महतो बताउँछन् । विद्युत् प्रसारण तथा वितरण लाइन तथा सबस्टेशन निर्माणमा कस्मिक अन्तरराष्ट्रिय गुणस्तरको कामका लागि प्रमाणित कम्पनी हो ।