ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा बजार : ६ महीनामा १९ कम्पनीको नाफा रू. १ अर्ब ३७ करोड

Feb 20, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । सञ्चालनमा रहेका २० ओटा निर्जीवन बीमा कम्पनीमध्ये १९ ओटाले चालू आर्थिक वर्ष (आव) २०७५/७६ को ६ महीनामा रू. १ अर्ब ३७ करोड ६५ लाख खुद नाफा कमाएका छन् । दी ओरियन्टल इन्स्योरेन्सले भने चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन । विवरण सार्वजनिक गरिसकेका कम्पनीहरूले गत आवको सोही अवधिमा रू. ८२ करोड ८० लाख ३२ हजार खुद नाफा कमाएका थिए । गत आवको सोही अवधिको तुलनामा कम्पनीहरूको खुद नाफा ६६ दशमलव २३ प्रतिशतले बढेको छ । यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी रू. २१ करोड २० लाख खुद नाफा कमाएको छ । यस्तै, नेको इन्स्योरेन्सले रू. १७ करोड ३ लाख र राष्ट्रिय बीमा कम्पनीले रू. १६ करोड ८४ लाख खुद नाफा आर्जन गरेका छन् । गत असारदेखि कारोबार शुरू गरेकामध्ये जनरल इन्स्योरेन्सले रू. १ करोड २९ लाख, सानिमाले रू. १ करोड २८ लाख र अजोडले रू. १ करोड २३ लाख खुद नाफा कमाएका छन् । नाफामा नेशनल इन्स्योरेन्स तथ्यांकअनुसार गत आवको सोही अवधिमा नेशनल इन्स्योरेन्स रू. ५३ करोड ५८ लाख घाटामा थियो । चालूको ६ महीनामा भने कम्पनी नाफामा गएको छ । उक्त कम्पनीले यस अवधिमा रू. १ करोड ९५ लाख खुद नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीले रू. ३७ करोड २५ लाख खुद नाफा कमाएको थियो । तर, यस अवधिमा कम्पनीले उक्त नाफा कायम राख्न सकेन । कम्पनी चालू आवको समीक्षा अवधिमा रू. १६ करोड ८४ लाख मात्र खुद नाफा कमाएको छ, जुन गत आवको समीक्षा अवधिको तुलनामा रू. ३७ करोड २५ लाख कम हो । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा पनि गत आवको तुलनामा घटेको छ । गत आवमा ८ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस आवमा ७ करोड ६७ लाख रुपैयाँ मात्र आर्जन गरेको छ । यसैगरी, युनाइटेड इन्स्योरेन्सको नाफा पनि गत आवको तुलनामा २ करोड ३२ लाख रुपैयाँ कम नाफा आर्जन गरेको छ । गत आवमा ४ करोड ६ लाख आर्जन गरेको कम्पनीले यस आवमा १ करोड ७४ लाख मात्र खुद नाफा कमाएको छ । करिब १२ अर्ब कुल बीमाशुल्क आर्जन १९ ओटा निर्जीवन बीमा कम्पनीले चालू आवको ६ महीनामा रू. ११ अर्ब ९३ करोड ७० लाख कुल बीमाशुल्क आर्जन गरेका छन् । गत आवको सोही अवधिमा ती कम्पनीले रू. ९ अर्ब ८९ करोड ४५ लाख बीमा शुल्क आर्जन गरेका थिए । यसअनुसार गत आवको तुलनामा यस वर्ष ती कम्पनीको कुल बीमाशुल्क आर्जन २० दशमलव ६४ प्रतिशतले बढेको छ । शिखर इन्स्योरेन्सले सबैभन्दा बढी रू. १ अर्ब ६७ करोड ९९ लाख बीमाशुल्क आर्जन गरेको छ । यस्तै, सगरमाथाले रू. १ अर्ब ८ करोड १९ लाख आर्जन गरेको तथ्यांकमा उल्लेख छ । गत असारदेखि कारोबार शुरू गरेको अजोड इन्स्यारेन्सले रू. १२ करोड १३ लाख बीमाशुल्क आर्जन गरेको छ । यस्तै, जनरलले रू. १० करोड ८१ लाख र सानिमाले रू. ४ करोड ४१ लाख बीमाशुल्क आर्जन गरेको छ ।
अस्वस्थ प्रतिस्पर्धा हुनु हुँदैन चिरञ्जीवी चापागाईं अध्यक्ष, बीमा समिति निजीक्षेत्र भएकाले बीमा कम्पनीहरूले नाफा कमाउनु स्वाभाविकै हो । कम्पनीहरूको यो सफलतालाई राम्रो मान्नुपर्छ । तर, नाफा कमाउने होडमा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुनु हुँदैन । साथै, सरकारी कम्पनीहरूले आपूmलाई बलियो बनाउँदै लैजान आवश्यक छ । तेस्रो त्रैमासदेखि नाफा बढ्छ रमेशकुमार भट्टराई कामु प्रमुख कार्यकारी अधिकृत युनाइटेड इन्स्योरेन्स विगतमा कम्पनीको प्राविधिक समस्याका कारण धेरै कर्मचारीले राजीनामा गरे । यसले गर्दा शाखा तथा विभागीय प्रमुखका पद रिक्त थिए । त्यसैले यस अवधिमा विगतको व्यावसायिक सफलता कायम राख्न सकिएन । हाल रिक्त पदहरू पूर्ति गर्ने काम भइरहेको छ । सम्भवतः तेस्रो त्रैमासदेखि नाफाको वृद्धिदरसँगै व्यावसायिक पनि गतिविधि राम्रो हुँदै जानेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)