ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी सेनाले तयार पारेको महिला सुरक्षा बास भवन प्रदेश सरकारलाई हस्तान्तरण

Feb 21, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

फागुन ९, विराटनगर । संघीय सरकारको समन्वय र अमेरिकी जलसेना कमाण्डको सहयोगमा विराटनगर–४, खार्जीमा निर्माण गरिएको सुरक्षा बास भवन बुधवार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ७ करोड रूपैयाँको लागतमा बनेको उक्त अत्याधुनिक भवन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन् ।

उक्त भवन अमेरिकी सरकारका तर्फबाट अमेरिकी जलसेनाका सर्जेन्ट केली मेभलर र कमाण्डर वाल्टर सिब्लीले मन्त्री थापालाई सोही कार्यक्रमका अवसरमा हस्तान्तरण गरेका थिए । लगत्तै प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई सुरक्षा बास भवन हस्तान्तरण गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाले हिंसाबाट प्रभावित भएका महिला, बेचबिखनमा परेका बालबालिका लगायतको अल्पकालीन संरक्षणका लागि सुरक्षा बास प्रयोग गर्न आग्रह गरिन् । सुरक्षा बासलाई नमूनाका रूपमा सञ्चालन गर्न समेत प्रदेश सरकारलाई उनले आग्रह गरिन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिंसा प्रभावित महिलाहरूको संरक्षणमा प्रदेश सरकारले थालेको अभियानलाई सुरक्षा बासको हस्तान्तरणले मद्दत पुगेको बताए । उनले संघीय सरकारका धेरै मन्त्रालयले आफ्ना संरचना प्रदेशलाई हस्तान्तरणमा आनाकानी गरिरहेको बेला सुरक्षा आवास बनाई दिने अमेरिकी सरकारबाट संघीय सरकारलाई हस्तान्तरण भएकै दिन प्रदेश सरकारलाई हस्तान्तरण भएकोमा आभार व्यक्त गरे ।

सुरक्षा बासमा भान्सा, शयन कक्ष, शौचालयसहित अत्याधुनिक १५ ओटा कोठा छन् । जहाँ ३० जनासम्मलाई राख्न सकिने बताइएको छ । भवनभित्र आवश्यक पर्ने सबै सामग्री अमेरिकी सेनाले नै व्यवस्थापन गरिदिएको छ । सात कठ्ठा क्षेत्रफलमा बनेको सुरक्षा बास भवन प्रदेश सरकारले कार्यविधि बनाएर सञ्चालन गर्ने बताइएको छ । सुरक्षा बास हस्तान्तरण कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेल, सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहाल लगायतको सहभागिता थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)