फागुन १४, काठमाडौं । पठाओ नेपाल प्रालिबाट सञ्चालन भइरहेको मोटरसाइकल सर्भिसको कार्यलाई अगाडि बढाउन हाललाई सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । न्यायाधीशहरु केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले हाललाई सो कम्पनीको कार्यलाई अगाडि बढाउन बाटो खोलिदिएको हो ।
पठाओले गरेको कार्य गैरकानूनी भएको दाबी गरी श्यामकुमार श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रिट निवेदक र सरकार पक्ष बीच मंगलवार भएको बहसपछि सर्वोच्च अदालतले हाललाई पठाओले गरेको सेवालाई रोक लगाउन आवश्यक नभएको उल्लेख गरेको हो ।
सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा नेपालमा पठाओ प्रालि दर्ता भएको भएता पनि यसले आफ्नो उद्देश्यभन्दा फरक कार्य गरेको दाबी गरिएको थियो । अर्कै उद्देश्य राखी पठाओ दर्ता गरिएको भएपनि यसले सो उद्देश्यको विपरित कार्य गरेको उल्लेख गरिएको थियो ।
पठाओले मोटरसाइकलमार्फत एक ठाउँबाट अर्को ठाउँमा मान्छे ओसार्ने गरेको र सो बापत शुल्क लिने गरेको थियो । यस्तो कार्यलाई लिएर नेपालमा सञ्चालन भइरहेका ट्याक्सी व्यवसायीलगायतले विरोध गरेका थिए । उनीहरुले त्यसलाई बन्द गर्नुपर्ने माग गरिरहेका थिए । सो बिरोध सँगै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो ।