ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालको काखमा नयाँ पदमार्ग ‘मुन्धुम ट्रेल’

Mar 9, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

फागुन २५, काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को तयारी चल्दै गर्दा सगरमाथा शिखरमा पहिलो पाइला टेकेका तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले त्यस समयमा प्रयोग गरेको ‘ट्रेकिङ रूट’लाई ‘मुन्धुम ट्रेल’का रूपमा विकास गरिने भएको छ ।

यस ‘ट्रेल’लाई विकास गर्न सके विश्वकै उत्कृष्ट पदमार्ग र पर्यटकीय गन्तव्य बन्ने अभियन्ताहरूको दाबी छ । प्रदेश–१ का खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाका पर्यटकीय क्षेत्र समेटेर मुन्धुुम पदमार्गको अवधारणा अगाडि सारिएको हो । विसं २०१० जेठ १६ शेर्पा र हिलारीले सगरमाथा आरोहण गर्न जाने क्रममा सोही बाटोको प्रयोग गरेको अभियन्ताहरूको भनाइ छ ।

गतवर्ष ‘मैयुङ, टेम्के, साल्पा, सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र’ले यसको प्रारम्भिक अध्ययन गरेको थियो । यो पदमार्ग यस वर्ष संघीय सरकारले घोषणा गरेका १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेको छ । संघीय सरकारको रू. ५० लाख, नेपाल पर्यटन बोर्डको रू. २० लाख र मैयुङ टेम्के गाविसको रू. १० लाख गरी ८० लाख रुपैयाँ यस पदमार्गको विकासका लागि खर्च गरिने भएको छ । गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण तथा पदमार्गको विकासका लागि करीब ६ करोड रुपैयाँ आवश्यक पर्ने केन्द्रका अध्यक्ष रमेशकुमार राईले जानकारी दिए । उनका अनुसार हाल उपलब्ध बजेटबाट प्रारम्भिक काम अगाडि बढेको छ । विसं २०७६ कात्तिकसम्म नमूना पदयात्रा गराउने गरी काम भइरहेको राईले बताए ।

पदमार्गको प्रवर्द्धन गर्न फागुन ७ देखि १३ सम्म मुन्धुम ट्रेल विकास तथा प्रवर्द्धन सम्मेलन–२०७५ तथा अध्ययन अवलोकन यात्रा सम्पन्न भएका छन् । केन्द्रका सचिव श्याम सामसोङ राईका अनुसार सम्मेलनले १७ बुँदे घोषणापत्र जारी गरेको छ । पदमार्गको गुरुयोजना निर्माण, दुर्लभ वन्यजन्तुको संरक्षण, विश्वव्यापी र अन्तरराष्ट्रिय ध्यान आकर्षित गर्ने खालका अल्ट्रा म्याराथनजस्ता खेलहरू आयोजना गर्ने लगायत बुँदा घोषणापत्रमा उल्लेख छन् ।

पथप्रदर्शक इन्सु राईका अनुसार पदमार्गबाट सगरमाथासहित ८ हजार मिटर अग्ला ६ ओटा हिमाल, ३३ ओटा हिमश्रृंखला र तराईको भूभाग अवलोकन गर्न सकिन्छ । ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाको शिरैशर गुराँस, चाँप, कटुस र लोक्ताको घना जंगल अवलोकन गर्न पाइने यो पदमार्गको विशेषता हो ।

टेम्केदेखि मैयुङ हुँदै सिलिचुङसम्म तीर्थयात्रा गर्ने पुरानो प्रचलन छ । पदमार्गको ‘ट्रेल मार्किङ’को क्रममा दैनिक ६ देखि ८ घण्टासम्म हिँड्न उपयुक्त हुने निष्कर्ष निकालिएको केन्द्रले जानकारी दिएको छ । पदमार्गमा पर्ने अधिकांश बस्ती किराँत समूदायको भएको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्धुम’मा उल्लेखित किराँती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको अध्यक्ष राईले बताए ।

यसअघि विश्वविख्यात बनेका अन्नपूर्ण फेरो लगायत पदमार्गमा सडक निर्माणपछि सवारी साधनको आवतजावत बाक्लिएको छ । र, त्यसका कारण उड्ने धुलोबाट पर्यटकले हैरानी खेप्नुपर्छ । यो पदमार्ग ‘भर्जिन’ भएकाले नेपालको नयाँ पर्यटकीय प्रडक्टका रूपमा विकास गर्न सकिने केन्द्रको अपेक्षा देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)