ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नति : ३ अर्ब ७५ करोडमा कालोपत्र फेरिँदै

Mar 10, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘रनवे रिह्याबिलिटेशन’ (धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम) चैतदेखि शुरू हुने भएको छ । रू. ३ अर्ब ७५ करोडमा पुरानो कालोपत्र उप्काएर नयाँ हालिन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । चैत्र १८ गतेदेखि राति विमानस्थल १० घण्टा बन्द गरी काम गरिने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । शुरूमा रनवेको सेन्टरलाइन लाइट लगाउने र सँगसँगै कालोपत्र हालिनेछ । निर्माण कम्पनीले तीन महीनाभित्रै रनवे तथा ट्याक्सी वेको काम सक्ने उनले बताए । उनले भने, ‘दैनिक ८० मिटरका दरले धावनमार्गको कालोपत्र गरिनेछ ।’ नयाँ कालोपत्र हालेपछि विमानस्थलको रनवेमा अबको २५ देखि ३० वर्षसम्म कुनै समस्या नआउने उनले बताए । यसअघि चार पटक ‘ओभर ले’ (कालोपत्रे थप्ने कार्य) भए पनि कालोपत्र फेर्न थालिएको भने पहिलो पटक हो । सन् १९६७ पछि धावनमार्ग मर्मतका क्रममा क्रमशः सन् १९७५, १९८५, १९९५ र २०१० गरी चार पटकसम्म ओभर ले (पिच थप्ने काम) गरिएको थियो । कालोपत्र नफेरिँदा विमानस्थल धावनमार्गको पिच फुट्ने र उप्कने समस्या देखिँदै आएको थियो । कालोपत्र फेर्ने काम चिनियाँ कम्पनी चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङ कर्पोरेशनले पाएको छ । गत मंसिरमा प्राधिकरण र कम्पनी वीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । कालोपत्रको काम शुरू भएपछि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिने त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले जानकारी दिए । उनले भने, ‘यसको लागि सबै राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडानको ‘स्लट’ बिहान ८ बजेदेखि राति १० बजेसम्ममा व्यवस्थापन गरिनेछ ।’ लुक्लाको लागि हुने उडानलाई रामेछापबाट गर्ने गरी आन्तरिक हवाई सेवा प्रदायकहरूसँग छलफल भइरहको समेत उनले जानकारी दिए । काठमाडौं –लुक्लामा सिजनमा ५० देखि ५५ ओटा उडान हुने गर्छन् । विमानस्थलमा अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान गरी दैनिक ३ सय विमानहरूको ‘मुभमेन्ट’ हुने गरेको छ, जसमा २८ ओटा अन्तरराष्ट्रिय तथा अन्य आन्तरिक उडान हुने गर्ने गरेको क्षत्रीले बताए । अहिले विमानस्थल २२ घण्टा सञ्चालन हुने गरेको छ । विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइमा फैलिएको छ । विमानस्थलमा ट्विनटर, एटीआरदेखि एयरबस ३३० सम्म उडान र अवतरण हुने गर्दछ । विमानस्थलमा अन्तरराष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ १७ वटा पार्किङ वे रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)