चैत ६, पर्वत । राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा ४५ प्रतिशत काम सम्पन्न भएको छ । गत चैतदेखि स्तरोन्नतीको काम शुरु भएको पर्वत खण्डमा १ वर्षमा ४५ प्रतिशत काम सम्पन्न भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।
लोकमार्ग अन्तर्गत पर्वतको अँधेरीखोलादेखि मालढुंगासम्मको २४ किलोमिटरको भौतिक प्रगति तिव्र गतिमा भैरहेको आयोजना कार्यालयले दाबी छ । पर्वत खण्डमा नाली निर्माण, पहिरो रोकथामका लागि पर्खाल निर्माण, साँघुरो घुम्ती काट्ने काम सकेर कालोपत्र गर्न गिट्टी बिच्छ्याउने काम भैरहेको छ । ‘२१ किलोमिटर सडकमा पक्कि गर्न सबै स्ट्रक्चर तयार भएको छ,’ आयोजना प्रमुख आशिष थापा मगरले भने,‘ ४ किलोमिटरमा भने केहि समस्या छ ।’ यो सडक खण्डको २१ किलोमिटर खण्ड दुई लेन र पर्वतको सदरमुकाम कुश्मा बजारको चार किलोमिटर खण्ड चार लेनको हुनेछ । सदरमुकाम कुश्मा बजारभित्रको खण्ड बाहेक अन्यत्र यहि हप्तामा कालोपत्र शुरु हुने थापाले बताए । महभीरको कडा चट्टान काट्ने काम चलिरहेको र अर्को हप्तासम्म उक्त काम सक्ने तयारी छ ।
कुश्माबजारमा बिजुलीका पोल र खानेपानीको पाईपका कारण सडक विस्तारका लागि डोजर लगाउन समस्या भएको छ । सम्बन्धित निकायले त्यसको व्यवस्थापन गरे आयोजनाले सदरमुकाम भित्रको सडकमा पनि काम गरेर एकै पटक सबै खण्डको काम सम्पन्न गर्ने लक्ष्य रहेको थापाले बताए । थापाले भने, ‘मौसमले साथ दिएमा असारसम्ममा तीनै जिल्लाको काम सक्ने लक्ष्य छ ।’
आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २४ किलोमिटर स्तरोन्नतीको काम लामा कन्स्ट्रक्शन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतीको कामको ठेक्का लिएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारओटा प्याकेज बनाएर काम भैरहेको छ ।
मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्षमा पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकको धेरै खण्ड भत्किएर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो ।