ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल भ्रमण वर्ष–२०२० : राष्ट्रिय संयोजकले २० लाखसम्म खर्च गर्न पाउने

Mar 24, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय संयोजकलाई एक पटकमा रू. २० लाखसम्म खर्च गर्न पाउने अख्तियारी दिएको छ । अतिथि सत्कारका लागि गरिने खर्च भने एक पटकमा रू. २५ लाख कायम गरिएको छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार मन्त्रिपरिषद्को फागुन २८ को बैठकले पारित गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’को कार्यविधिमा उक्त व्यवस्था गरिएको हो । हालसम्म कार्यविधि पारित नभएका कारण भ्रमण वर्ष–२०२० का राष्ट्रिय संयोजकलाई बजेट विनियोजन भए पनि खर्च गर्न समस्या परेको थियो । सरकारले उद्योगपति सुरज वैद्यलाई भ्रमण वर्षका राष्ट्रिय संयोजक चयन गरेको छ । कार्यविधिअनुसार सूचीकृत आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकबाट १० लाख रुपैयाँसम्मको खरीद गर्न सकिनेछ । यस्तै, रू. १० लाखदेखि रू. २० लाखसम्मको खरीदमा कम्तीमा तीन आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकबाट दरभाउपत्र प्रस्ताव लिई राष्ट्रिय संयोजकको स्वीकृतिपछि सोझै खरीद गर्न सकिने व्यवस्था गरिएको छ । रू. २० लाखभन्दा बढीको खरीदका हकमा राष्ट्रिय बोलपत्रको माध्यम अपनाउनु पर्ने उल्लेख छ । गत पुस २० मा बसेको नेपाल भ्रमण वर्ष मूल समिति बैठकमा संयोजक वैद्यले बजेट खर्च गर्ने कार्यविधि नभएकै कारण समस्या भएको बताएका थिए । बैठकमा तत्कालीन पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले कार्यविधि छिट्टै मन्त्रिपरिषद्मा लगेर पारित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, मन्त्री अधिकारीको निधनका कारण मन्त्रिपरिषद्मा पुगेको प्रस्ताव अड्किन पुगेको थियो । जसका कारण गर्दा भ्रमण वर्षका लागि आवश्यक काम प्रभावकारी ढंगले अघि बढ्न सकेको थिएन । बुटिक विमानस्थलको उद्घाटन आगामी पुसमा यस्तै, मन्त्रिपरिषद्को सोही बैठकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा स्थापित गर्नेसम्बन्धी कार्यविधि पनि पारित गरेको छ । नेपालको कला, संस्कृति, भूगोल, इतिहास, प्राकृतिक सौन्दर्य झल्कने तथा थप आधुनिक सुविधा सम्पन्न हुने गरी विमानस्थललाई बुटिक विमानस्थलका रूपमा स्थापित गरिने कार्यविधिमा उल्लेख छ । विज्ञहरूको सुझाव लिई चैत मसान्तसम्ममा यसको अवधारणा पत्र तयार गर्ने र २०७६ पुस १७ सम्ममा सबै काम सकेर उद्घाटन गर्ने सरकारी लक्ष्य छ । कार्यविधिले त्यसका लागि निर्देशक समिति गठन गर्ने व्यवस्था गरेको छ । अहिलेदेखि नै विमानस्थलमा स–साना सुधार गर्दै बुटिककै अवधारणा अनुसार काम भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए । बुटिक विमानस्थलको हकमा पनि रू. १० लाखदेखि २० लाखसम्मको खरीदका लागि कार्यसम्पादन समितिको संयोजकको स्वीकृतिमा र त्यसभन्दा माथिको हकमा कार्यसम्पादन समितिको सिफारिशमा निर्देशक समितिको स्वीकृति लिई खर्च गर्न सक्ने व्यवस्था छ । कार्यसम्पादन समितकिो संयोजकमा विमानस्थलका महाप्रबन्धक र निर्देशक समितिमा पर्यटनमन्त्री रहने व्यवस्था कार्यविधिले गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)