बैंकिङ कसूर अभियोग : १३ आरोपीलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको सूचना
Mar 26, 2019
 
समाचार
काठमाडौं । बैंकिङ कसूरको आरोप लागेका विभिन्न फाइनान्सका सञ्चालकहरूलाई उपस्थित हुन सर्वोच्च अदालतले १५ दिनको म्यादसहित सार्वजनिक सूचना जारी गरेको छ । उनीहरूको घर ठेगानामा पठाइएका पत्र फिर्ता आएपछि सर्वोच्चले सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
ती आरोपीविरुद्ध सरकारले उच्च अदालतमा बैंकिङ कसूर अभियोगमा मुद्दा दायर गरेको थियो । उच्च अदालतले कतिपयलाई सफाइ दिएको थियो भने कतिपयलाई नगन्य सजायँ तोकेको थियो । उच्च अदालतको फैसलामा चित्त नबुझेपछि सरकारले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
उच्च अदालतले गरेको पैmसला फरक पर्नसक्ने उल्लेख गर्दै सर्वोच्चले आफ्नो पक्षबाट प्रतिवादका लागि उपस्थित हुन सूचना प्रकाशित गरेको हो । तोकिएको अवधिभित्र नआए एकतर्फी रूपमा फैसला हुने कानूनी व्यवस्था छ । आरोपितहरूले कमसल धितो राखी उल्लेख्य ऋण प्रवाह गरेको लगायत अभियोग सरकारले लगाएको छ ।
उपस्थित हुन घर ठेगानामा पठाइएको पत्र जति प्रयास गर्दा पनि उनीहरूले बुझ्न नचाहे वा नसकेपछि कानूनबमोजिम सार्वजनिक सूचना प्रकाशित गर्नुपरेको सर्वोच्च अदालतले जानकारी दिएको छ ।
को को छन् सूचीमा ?
काठमाडौंमा सञ्चालित जनरल फाइनान्सका सञ्चालक उमेश श्रेष्ठ, सरस्वती भट्टराई र संगीता कार्कीलाई उपस्थित हुन सर्वोच्चले सार्वजनिक रूपमा सूचना जारी गरेको छ । यस्तै, सर्वोच्चले धनुषाकी शालु गोयन्कालाई पनि उपस्थित हुन १५ दिनको म्याद दिएको छ । उनको घर ठेगानामा पठाइएको पत्र सर्वोच्चमै फिर्ता आएको छ ।
झापा शिवनगरका बबिता पन्त र विकास पौडेल, काभ्रेको खरेलथोकका अर्जुन लामा, सुनसरीको धरान–१७ का नवीन चोङवाङ, बाराको निजगढ–७ का रामहरि घिमिरेको नाममा पनि सर्वोच्चले सूचना जारी गरेको छ । यस्तै, काठमाडौं सिनामंगल बस्ने बाबुकाजी मुल्मी, भोजपुरका सुमन शाक्य, काठमाडौं–२९ की अञ्जु पाण्डे र काठमाडौं डिल्लीबजारका केपी शर्माका नाममा पनि सूचना प्रकाशित गरिएको छ ।