चैत १८, रौतहट । मानव बस्ति नै विनास गरी रेल मार्गको सव–स्टेशन बनाउने तयारी गरेपछि स्थानीय आक्रोशित बनेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–८ का स्थानीयले मेची–महाकाली (पूर्व–पश्चिम) विद्युतीय रेल मार्गको सव–स्टेशन बनाउन बस्ति ने विनास गर्न नदिने भन्दै विरोध गरेका हुन् ।
करीब २०० वर्ष पुरानो मोतिपुर, हात्तिसार, थलहीटोलका मठमन्दिरलगायत बस्ति नै विनास हुने भएपछि स्थानीयले रेल्वे सव–स्टेशन पीडित संघर्ष समिति गठन गरी आन्दोलन शुरु गरेका छन् । संघर्ष समितिका संयोजक दामोदर घिमिरेले ट्र्याक खोल्न सहमति जनाउँदै आएको भएपनि सिंगो गाउँ नै विस्थापित हुने गरी सव–स्टेशन बनाउन लागेकाले आन्दोलित हुनु परेको बताए । सरकारको ध्यानाकर्षण गराउन विभिन्न निकायमा पुगी ज्ञापनपत्र बुझाएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय गौरमार्फत गृह मन्त्रालय, रेल्वे विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नापी, मालपोत र नगरपालिकालाई ज्ञापनपत्र बुझाएको उनले बताए ।
मेची–महाकाली विद्युतीय रेलमार्गको बर्दिबास–निजगढ रेल खण्ड निर्माण कार्यका लागि रौतहट भित्र पर्ने जग्गा प्राप्ति गर्न अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय गौरले यही फागुन ७ गते सूचना प्रकाशित गरेको थियो । यसअघि रेल्वे चल्ने भएपछि खुसी भएका स्थानिय सूचना जारी गरेपछि बस्ति नै हटाइन लागेको भन्दै आक्रोशित बनेका हुन् । साविकको सन्तपुर मटिऔन–९ भनेर सूचना निकालिएकाले यसले सिंगो गाउँ विस्थापित हुने खतरा बढेको स्थानीयको बुझाई छ ।
यस क्षेत्रमा ५५१ घरधुरीसहित १२० बिगाहा जमिन क्षेत्रफल पर्छ । सर्भेका क्रममा विवाद नआएको तर सूचना निकालिएपछि बस्तिका बारेमा विवाद भएको सर्वेक्षक अजय कुमार यादवले बताए । यस बिषयमा छलफलबाट निकास निकालिने उनले बताए । रौतहटको चाँदी नदीदेखि रंगपुरको चोचासम्म ७ किलोमिटर जमिन पर्ने सर्वेक्षक यादवले बताए । बार्दिबासदेखि लालबन्दीसम्मको करिडोर बनिसकेको र पुल तथा ट्र्याक राख्न बाँकी रहेको उनले बताए । जमिन विवाद टुँगिएपछि कामले तिव्रता पाउने र दुई वर्ष भित्रमा निजगढसम्म पु¥याउने लक्ष्य राखिएको उनले प्रष्ट पारे । मेची–महाकाली विद्युतीय रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) दुई वर्षअघि नै बनिसकेको उनले जानकारी दिए । विद्युतीय रेलमार्गको लम्बाई ९४५ किलोमिटरको हुने उनको भनाइ छ । स्थानीयले भने रेल्वेको बर्दिबास कार्यालय पुगेर बस्ति मास्ने काम नगर्न सचेत गराएका छन् ।