चैत २०, सुर्खेत । कर्णाली प्रदेशका सबै कारागारमा पुस्तकालय स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालयले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् प्रदेशमा रहेको सबै कारागारमा विभिन्न निकाय तथा नागरिकको सहयोगबाट पुस्तकालय स्थापना गरिएको जानकारी दिएको हो । कैदीबन्दीको सहयोगार्थ स्थापना गरिएका पुस्तकालयको उद्धघाटन चैत २३ गते एकै साथ प्रदेशभरी गरिने छ । पहिलो चरणमा प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम, कालिकोट, जुम्ला र डोल्पामा स्थापना गरिनेछ । हुम्ला र मुगुमा निकट भविष्यमै पुस्तकालय स्थापना गरिने प्रदेश प्रहरी कार्यालयका डीआईजी महेशविक्रम शाहले जानकारी दिए । उनका अनुसार हुम्लामा कारागार निर्माण अन्तिम प्रक्रियामा रहेको र मुगुमा पनि निकट भविष्यमै कारागार निर्माण हुनेछ । उनले कैदीबन्दीलाई सृजनशील तथा अध्ययनका माध्यमबाट परिवर्तन ल्याउन पुस्तकालय स्थापना गर्न लागिएको बताए ।
‘करीब रू.२१ लाख बराबरका किताव संकलन गरिसकेका छौं,’ डीआइजी शाह भने, ‘पहिलो चरणमा प्रदेशका १० मध्ये आठ जिल्लाका कारागारमा पुस्तकालय स्थापना हुन्छ ।’ उनले ‘कारागारलाई किताव’ अभियान सार्थक बनाउन चैत २३ गते सबै कारागारमा एकैसाथ पुस्तकालयको औपचारिक उद्धघाटन गरिने जनाए । उनका अनुसार पुस्तकालयको उद्धघाटनपछि कैदीबन्दीलाई देशका चर्चित लेखक, साहित्यकारसँग साक्षात्कार गराईने छ । पुस्तकालय स्थापना गर्नका लागि डिआइजी महेशविक्रम शाहको संयोजकत्वमा गठित समिति र जिल्लामा गठित उपसमितिहरु मिलेर जम्मा ८ हजार ३ सय ८८ ओटा पुस्तकहरु संकलन गरिएको थियो । संकलित पुस्तकहरु कैदीहरुको संख्याका आधारमा प्रत्येक जिल्ला कारागारहरुमा पठाएर पुस्तकालयसमेत स्थापना गरिसकिएको डिआइजी शाहले बताए ।
कैदीबन्दीलाई नयाँ ज्ञान र सकारात्मक सोचको विकास गर्न जीवन उपयोगी पुस्तकहरु पुस्तकालयमा उपलब्ध गराईने उनको भनाइ थियो । ‘कारागार अपराधी थुन्ने ठाउँमात्रै नभई चरित्र सुधार गर्ने ठाउँ पनि हो,’ उनले भने, ‘अध्ययनबाट सकारात्मक सोच विकासहुँदा समाजमा शान्तिसुरक्षा प्रभावकारी हुने भएकाले पुस्तकालय स्थापना गर्न जरुरी देखिएको हो ।’ कारागारमा ‘बुक क्लव’प्रदेश कारागारमा रहेका पुस्तकालयको निगरानी तथा संरक्षणका लागि ‘बुक क्लब’ गठन गरिने छ । गठित समितिले कारागारमा प्रत्येक शनिवार कैदीबन्दीसँग र पुस्तक माथिको समीक्षा गर्नेछ । कैदीले अध्ययन गरेको पुस्तकको समीक्षा र अध्ययनको आधारमा महिनाभरी सबैभन्दा बढी पुस्तक अध्ययन गर्ने कैदीलाई पुरस्कृत समेत गरिने छ । धेरै पुस्तक पढ्ने र अरुलाई पनि पढ्न प्रेरित गर्ने कैदीबन्दीलाई पुरस्कार दिइने डीआईजी शाहले बताए । उनले मानव जीवन रुपान्तरणका लागि अध्ययन महत्वपूर्ण रहेको जीकिर गरे । उनका अनुसार कैदीबन्दीलाई नयाँ ज्ञान तथा सकारात्मक सोंचको विकासका लागि अध्ययनको व्यवस्था मिलाउन कारागारमा पुस्तकालय निर्माण गरिएको हो ।
कारागारमा दर्जन साहित्यकार आउँदै
कैदीबन्दीको जीवनरुपान्तरणमा टेवा पुर्याउने उद्देश्यले प्रदेशका सबै कारागारमा चर्चित लेखक, साहित्यका आउने भएका छन् । प्रदेश प्रहरीले शुरु गरेको ‘कारागारमा किताव अभियान’ अन्तर्गत् चर्चित लेखक तथा साहित्यकार कारागारका कैदीबन्दीसँग साक्षात्कार हुन आउन लागेका हुन् । सुर्खेतमा सनत रेग्मी, नयनराज पाण्डे र कवि नवराज पराजुली, दैलेखमा शेखर खरेल र उमा नगरकोटी, सल्यानमा रामलाल जोशी, रुकुम पश्चिममा कुमारी लामा, जाजरकोटमा अर्चना थापा र सुविन भट्टराई, कालिकोटमा युग पाठक, डोल्पामा अम्मर न्यौपाने लगायत १४ जना लेखक तथा साहित्यकारले कैदीबन्दीसंग साक्षात्कार गर्ने छन् ।