ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकासँग पर्यटकीय भिसामा ‘रेसिप्रोकल’ प्रणाली

Apr 4, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल
तीन अमेरिकी पर्यटकलाई नेपालको पाँचवर्षे भिसा दिएर शुरु काठमाडौं । सरकारले अमेरिकासँग पर्यटकीय भिसामा ‘रेसिप्रोकल’ गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । अध्यागमन विभागले तीन अमेरिकी नागरिकलाई पहिलोपटक पाँचवर्षे पर्यटक भिसा उपलब्ध गराएसँगै यो निर्णय कार्यान्वयनमा आएको हो । ‘रेसिप्रोकल’ भनेको दुवै मुलुकबीच समान भिसा प्रणाली लागू गर्नु हो । अमेरिकाले नेपाली नागरिकलाई यसअघि नै पाँचवर्षे भिसा दिँदै आएको छ । नेपाल सरकारले गत पुस १७ देखि उक्त भिसा प्रणाली लागू गरेको थियो । अमेरिकाले नेपालको भिसा शुल्क महँगो भएको भन्दै त्यसलाई समान बनाउन माग गर्दै आएको थियो । अब पर्यटक भिसामा नेपाल आउने अमेरिकी नागरिकले बहुप्रवेशी पाँचवर्षे भिसा पाउनेछन् । बहुप्रवेशी भिसा लिँदा अमेरिकी र नेपाली पर्यटक दुवैले १६० अमेरिकी डलर बुझाउनुपर्नेछ । पाँचवर्षे भिसा लिने अमेरिकी पर्यटकले १ वर्षमा १८१ दिनसम्म मात्र नेपाल बस्न पाउनेछन् । हालको व्यवस्थाअनुसार पर्यटकका रूपमा नेपाल आउने अमेरिकी नागरिकले भिसा शुल्कबापत १५ दिनका लागि २५ डलर, ३० दिनका लागि ४० डलर र ९० दिनका लागि १०० डलर तिर्नुपर्ने व्यवस्था छ । ९० दिनभन्दा बढी बस्न चाहेमा दैनिक २ डलर थप बुझाउनुपर्छ । अमेरिकाले भने नेपालीलाई १६० डलरमा ५ वर्षको बहुप्रवेशी भिसा दिँदै आएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । उनले भने, ‘अमेरिकासँग विद्यार्थी, पत्रकार र कामदारका लागि यसअघि नै भिसा पारस्परिक नीति लागू भइसकेको छ । पर्यटकका हकमा औपचारिक रूपमा चैत १८ देखि पारस्परिक भिसा कार्यान्वयनमा ल्याएका छौं ।’ पारस्परिक भिसा कार्यान्वयनमा आएसँगै नेपाल आउने पर्यटकको संख्या बढ्ने पौडेलले बताए । अमेरिका सबैभन्दा बढी पर्यटक आउने प्रमुख तीन मुलुकमध्ये पर्छ । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०१७ (आर्थिक वर्ष २०७३/७४) मा अमेरिकाबाट ७९ हजार १४६ र सन् २०१८ (आव २०७४/७५) मा ९१ हजार ७८५ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ को पहिलो २ महीनामा पनि अमेरिका पर्यटक नेपाल आउने प्रमुख मुलुककै सूचीमा छ । विभागका अनुसार अमेरिकाको भ्रमण भिसा पाउने नेपालीको संख्या भने सरदर वार्षिक १ हजार ५०० हाराहारी मात्र छ । विद्यार्थी भिसामा अतिरिक्त २०० डलर हटाउँदै अमेरिका यस्तै, अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीबाट अमेरिकाले लिने गरेको २०० डलर अतिरिक्त शुल्क मिनाहाको गृहकार्य अन्तिम चरणमा पुगेको विभागले जानकारी दिएको छ । अमेरिकी दूतावासले भिसा शुल्कबापत १६० र विद्यार्थीका हकमा २०० डलर अतिरिक्त लिँदै आएको छ । ‘यस विषयमा छलफल भइरहेको छ,’ महानिर्देशक पौडेलले भने, ‘चाँडै अध्ययन भिसामा लाग्ने अतिरिक्त शुल्क घटाउनेछौं ।’ सरकारले नेपाली विद्यार्थीको अध्ययन भिसामा अमेरिकाले लिने गरेको अतिरिक्त शुल्क हटाउने सम्बन्धमा आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो । परराष्ट्रको समन्वयपछि अमेरिकी दूतावासले उक्त शुल्क हटाउने आश्वासन दिएको थियो । नेपालस्थित अमेरिकी दूतावासका कन्सुलर चिफ माइक म्युस्सीले विद्यार्थीका लागि लिँदै आएको अतिरिक्त शुल्क घटाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी विभागलाई दिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)