ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर आईसीपी २ महीनामा नेपाल सरकारले पाउने, दैनिक ५०० कामदार फिल्डमा

Apr 7, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

चैत २४, विराटनगर । भारत सरकारको लगानीमा विराटनगरको बुधनगरमा निर्माण भईरहेको एकीकृत जाँचपास चौकी (आईसीपी) संरचना निर्माणको ८५ प्रतिशत काम सम्पन्न भएको छ । निर्माण कम्पनीले परियोजनाको काम चाँडै सम्पन्न गर्न ‘एप्रोच रोड’, ‘वाइपास रोड’ निर्माण गरिसकेको छ भने साढे ७ किलोमिटर आन्तरिक रोड निर्माणको काम समेत अन्तिम चरणमा पुगेको परियोजना व्यवस्थापक अबधेश साहले जानकारी दिए ।

उनले हालसम्म आईसीपी भित्र रहने सम्पूर्ण भवनहरुको मुख्य काम सकिएको र फिनिसिङ मात्र गर्न बाँकी रहेको बताए । परियोजना व्यवस्थापक साहले हालसम्म आईसीपी परियोजना क्षेत्रको पर्खाल निर्माण, ओभरहेड ट्यांक निर्माण, प्रवेशद्वार निर्माणलगायतका काम भएको र परियोजनाको ८५ प्रतिशत बढी काम सकिएको जानकारी दिए । निमार्णकार्य अन्तिम चरणमा आईपुगेकाले अबको २ महीनामा हस्तान्तरणको लागि तयार हुने उनले दाबी गरे ।

भारत तर्फभने संरचना निर्माण सम्पन्न भएर यस अघि नै सञ्चालनमा आइसकेको छ । एकीकृत जाँचपास चौकी भारत सरकारकै लगानीमा नेपाल र भारतपट्टि उस्तै संरचना निर्माण गर्नका लागि सन् २०१६ डिसेम्बर २७ मा भारतीय ठेकेदार कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राशन प्रा.लि. सँग सम्झौता भएको थियो । आईसीपीका लागि नेपाल सरकारले जग्गामात्र उपलब्ध गराएको छ । दुबै देशबीच भएको सम्झौताअनुसार भारत सरकारले आईसीपी निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । नेपाल सरकारले आईसीपी निर्माणका लागि जग्गा उपलब्ध गराउन मुआब्जा वितरणलगायतका काममा ढिलाई हुँदा नेपालतर्फ आईसीपी निर्माण परियोजनाको काम ढिलो गरी शुरु भएको थियो । यसले परियोजना नै अलपत्र पर्ने हो कि भन्ने चिन्ता पूर्वका उद्योगी व्यवसायीमा परेको थियो । तर आईसीपी निर्माणका लागि आइपरेका विभिन्न समस्या नेपाल सरकारले समाधान गरेपछि निमार्णकार्यले तीव्रता पाएको हो । निमार्ण कार्यले गति लिएपछि यस क्षेत्रका उद्योगी व्यवसायी पनि हौसिएका छन् ।

आईसीपी निमार्णका लागि हाल दैनिक ५०० भन्दा बढी कामदारले काम गरिरहेका छन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय विराटनगरका अनुसार आईसीपी निर्माणका लागि १२९ बिघा जग्गा र लिंक रोडका लागि ४० बिघा अधिग्रहण पश्चात ३० करोड १३ लाख ५४ हजार रुपैयाँ मुआब्जा वितरण गरी आईसीपि निर्माणका लागि भारतलाई जग्गा हस्तान्तरण गरिएको छ । एकीकृत जाचपास चौकी निर्माण सम्पन्न भएपछि, पशु क्वारेन्टाईन, गोदाम घर, भन्सार चौकी, लगायत चेक जाँचको काम सबै एकै थलोबाट हुने र विभिन्न वस्तु आयात निर्यातमा समेत सहज हुनेछ ।

भारतको बथनाहादेखि कटहरीसम्मको १८ दशमलव ५ किलोमिटर रेल्वे लिकमध्ये भारततर्फ साढे ५ किलोमिटर रहेको छ भने नेपालतर्फ १३ किलोमिटर रहेको छ । भारत सरकारले रेल्वे लिक स्टेशन विल्डिङ, यात्रु प्रतिक्षालय, बुधनगरमा संयुक्त चेक प्वाइन्टसमेत निर्माण गरिदिने सम्झौतामा रहेको छ । २३८ करोड भारतीय रुपयाको लगानीमा निर्माण भईरहेको एकीकृत भन्सार जाँचपास चौकी प्रदेश–१ का लागि मात्र नभएर मुलुककै लागि ठूलो परियोजना हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)