ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत्मा विदेशी लगानीकर्ताको चासो कम

Apr 11, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७५/७६ को ९ महीना (साउन–चैत)मा प्रतिबद्धता रकमको कोणबाट वैदेशिक लगानी घट्दो क्रममा देखिएको छ । उद्योग विभागका अनुसार ठूलाभन्दा साना लगानीकर्ता बढ्दै जाँदा वैदेशिक लगानीको रकम घटेको देखिएको हो । चालू आर्थिक वर्ष (आव) २०७५/७६ को चैत १३ सम्ममा २६६ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक देखिएका छन् । तर, उनीहरूको प्रतिबद्धता रू. ११ अर्ब मात्रै छ । यस अवधिमा अस्ट्रेलिया, बंगलादेश, फ्रान्स लगायत मुलुकबाट लगानी कम आएको छ । समीक्षा अवधिमा अस्ट्रेलियाले एउटा परियोजनामा ३० लाख, बंगलादेशले २ ओटा परियोजनामा १ करोड र क्यानडाले एउटा परियोजनामा ९ करोड रुपैयाँ लगानीको प्रतिबद्धता गरेका छन् । सबैभन्दा बढी प्रतिबद्धता गर्नेमा छिमेकी मुलुक भारत र चीन छन् । यस अवधिमा भारतबाट ४५ ओटा परियोजनामा रू. ५ अर्ब ५९ करोड ४७ लाखको प्रतिबद्धता आएको छ । यस्तै, चीनबाट ११० ओटा परियोजनामा रू. २ अर्ब ३१ करोड ५० लाखको प्रतिबद्धता आएको छ । त्यसमध्ये मेनल्यान्डबाट १०६ परियोजनामा रू. २ अर्ब २५ करोड, हङकङबाट एउटा परियोजनामा रू. ५० लाख र ताइवानबाट तीनओटा परियोजनामा रू. ६ करोड लगानी भिœयाउने प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक अनुसार गत आव २०७४/७५ मा जम्मा २४४ लगानीकर्ताबाट रू. ३५ अर्ब प्रतिबद्धता आएको थियो । उक्त आवमा भारतबाट ३५ ओटा परियोजनामा रू. ३ अर्ब ९९ करोड ४९ लाखको प्रतिबद्धता आएको थियो । यस्तै, चीनबाट ७२ ओटा परियोजनाका लागि रू. २८ अर्ब ६७ करोड ९९ लाखको प्रतिबद्धता आएको थियो । त्यसमा मेनल्यान्डबाट ६८ परियोजनामा रू. २८ अर्ब ५७ करोड ८९ लाख र हङकङबाट चारओटा परियोजनाका लागि रू. १० करोड १० लाखको प्रतिबद्धता आएको थियो । जलविद्युत्मा आएन प्रतिबद्धता चालू आव २०७५/७६ को चैत १३ सम्ममा जलविद्युत् क्षेत्रमा लगानीकर्ता नआउँदा प्रतिबद्धताको परिमाण कमजोर रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंह बताउँछन् । कानूनी जटिलतालाई कारण देखाउँदै विदेशी लगानीकर्ता हतोत्साहित हुनुपर्ने अवस्था भने हटिसकेको उनको दाबी छ । ‘लगानी ऐन, औद्योगिक व्यवसाय ऐन नयाँ ल्याइसकेका छौं, अरू पनि आउनेक्रममा छन्,’ महानिर्देशक सिंह भन्छन्, ‘यसले लगानीमैत्री वातावरण सृजना हुनेमा विश्वस्त छौं ।’ लगानी सम्मेलनयता भने विदेशी लगानीकर्ताको चहलपहल केही बढेको उनको भनाइ छ । अर्थविद् डा. चन्द्रमणि अधिकारी भने सरकारको कमजोरीका कारण लगानी भित्रिन नसकेको बताउँछन् । ‘सरकारले अधिकारसम्पन्न निकाय बनाई कर प्रणालीलाई व्यवस्थित गरेको सन्देश नदिएसम्म लगानीकर्ताहरू भित्रिने वातावरण बन्दैन,’ उनी भन्छन् । लगानी बोर्डका प्रवक्ता बलराम रिज्यालका अनुसार चालू आवमा लगानी सम्मेलन अघिसम्म लगानीकर्ता आएका थिएनन् । ‘सम्मेलनमा प्रतिबद्धता जनाएकाहरूलाई बोर्डले अनुगमन गरिरहेको छ । सम्मेलनपछि लगानीकर्ता उत्साहित देखिएका छन् र बोर्डले पनि परियोजनाहरूको सूक्ष्म अध्ययन गरिरहेकाले वैदेशिक लगानी बढ्ने अपेक्षा छ,’ उनी भन्छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)